टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि ः क्रिकेटको महाकुम्भमा राजनीतिको मन मुटाब

काठमाडौं । सुरुआतअघि नै दक्षिण एसियाकै तीन राष्ट्र भारत, पाकिस्तान र बंगलादेशबीचको राजनीतिक खिचातानीबाट प्रताडित बनेको आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु हुँदै छ ।

सुरुआतअघि नै बंगलादेशबाट ‘बहिष्कार’ बनेको यो प्रतियोगितामा पाकिस्तानले भारतसँग नखेल्ने अडान कस्दा क्रिकेट समर्थक असमाञ्जस्य भावनामा छन् । क्रिकेटको ‘एल क्लासिको’ मानिने भारत–पाकिस्तानको खेल यसपटक दुविधामा हुँदा विश्वकपको वास्तविक मनोरञ्जन नै खल्लो हुने डर पनि उस्तै छ ।

पाकिस्तानले भारतसँग नखेल्ने घोषणा गरे पनि विश्वकपको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भारतका कप्तान सूर्यकुमार यादवले भने आफ्नो टिमले श्रीलंकाको भ्रमण गर्ने जनाए । त्यसो त यसअघि नै विश्व क्रिकेटको सर्वोच्च निकायमा भारत र पाकिस्तानले क्रिकेटका निम्ति एक–अर्काको देश भ्रमण नगर्ने सहमति नै गरेका थिए ।

तर, आईसीसीमा भारतको चर्को दादागिरी भएको बताउँदै पाकिस्तानले श्रीलंकामा पनि भारतसँग खेल्न अस्वीकार गरेको हो ।

“हाम्रो मानसिकता स्पष्ट छ । हामीले खेल्न अस्वीकार गरेका हैनौँ, उनीहरूले हो । कोलम्बोको फ्लाइट बुक गरिसक्यौँ, हामी श्रीलंका जानेछौँ,” भारतीय कप्तान यादवले खेलअघि भने ।

विश्वकपमा भारत र पाकिस्तान समूह ‘ए’मा छन् । जहाँ यी दुई टिमसँगै अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् ।

प्रतियोगिताको पहिलो दिन आज कुल तीन खेल हुँदै छन् । जसमा समूह ‘ए’बाट चार टिम प्रतिस्पर्धामा उत्रिँदैछन् । विश्वकपको पहिलो खेलमा आज पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

श्रीलंकाको कोलम्बोस्थित सिँहालेस रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ११ः१५ बजेदेखि सुरु हुँदै छ । दोस्रो खेल दिउँसो ३ः१५ सुरु हुँदा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अर्को एसोसिएट राष्ट्र स्कटल्यान्डको सामना गर्नेछ । स्कटल्यान्ड त्यही टिम हो, जो बंगलादेशले प्रतियोगिता बहिष्कार गरेपछि अवसर पाएको थियो ।

यी दुई टिमबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुने तालिका छ । यस्तै, दिनको तेस्रो खेलमा भारतले अमेरिकाविरुद्ध खेल्नेछ ।

भारतका पाँच सहरका पाँच रंगशाला र श्रीलंकाका दुई सहरका तीन रंगशालामा हुने प्रतियोगिता आजदेखि मार्च ८ सम्म आयोजना हुँदै छ । प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

३० दिने यो प्रतियोगितामा कुल ५५ खेल हुँदै छन् । प्रतियोगिताको फाइनल खेल भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने तालिका छ ।

टी–२० विश्वकपका विजेताहरू

सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले पहिलो उपाधि जितेको थियो ।

सन् २००९ मा पाकिस्तानले उपाधि जित्यो । त्यसपछि सन् २०१० मा इंग्ल्यान्ड विजयी भयो भने सन् २०१२ र २०१६ मा उपाधि हात पार्दै वेस्ट इन्डिज यो प्रतियोगिताको दुईपटक उपाधि जित्ने पहिलो टोली बन्यो ।

श्रीलंकाले सन् २०१४ मा उपाधि आफ्नो नाममा गर्यो । अस्ट्रेलियाले सन् २०२१ मा विजेताको सूचीमा आफ्नो नाम दर्ता गरायो । सन् २०२२ मा इंग्ल्यान्डले दोस्रो पटक उपाधि जित्यो । त्यसपछि सन् २०२४ मा भारतले पनि दोस्रो पटक च्याम्पियन बन्दै वेस्ट इन्डिज र इंग्ल्यान्डसँगै प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोलीहरूको सूचीमा आफूलाई उभ्यायो ।

वेस्ट इन्डिज, इंग्ल्यान्ड र भारतले समान दुई पटक उपाधि चुमे पनि प्रतियोगिताको इतिहास हेर्दा हालसम्म कुनै पनि टोली लगातार दुई पटक च्याम्पियन भने बन्न सकेको छैन ।