सुर्खेत । कर्णाली प्रदेशलाई माओवादी केन्द्रले आधार इलाकाको रूपमा बुझ्दछ । २०७४ को अघिल्लो चुनावमा दोस्रो दल रहेको माओवादी अहिले पहिलो दल बनेको छ । दोस्रो दल हुँदा पनि मुख्यमन्त्रीका लागि दाबी नछोडेको माओवादी केन्द्रले पहिलो दल बन्दा झन् छोड्ने अवस्था थिएन ।
पुरानो माओवादी विरासत र पहिलो दलको आडमा माओवादीले योपटक पनि मुख्यमन्त्री पाएको छ । पहिलो प्रदेशसभामै मुख्यमन्त्री बन्ने मौका पाएको माओवादी केन्द्रले दोस्रो प्रदेशसभामा पनि मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री बन्ने मौका भने राजकुमार शर्माले पाएका छन् । माओवादीबाट मुख्यमन्त्री हुने दोस्रो नेतामा शर्मा पर्छन् ।
अघिल्लोपटक माओवादी नेता जनार्दन शर्माले आफ्ना हितैषी महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाएका थिए । अहिले तिनै शर्माको अडानमा आफन्त राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन् ।
पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका शर्मा रुकुमपश्चिम प्रदेशसभा बाट निर्वाचित हुन् । शर्मा चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरूबीच बनेको गठबन्धनबाट विजयी भएर आएका हुन् । शर्मा जनार्दन शर्मानिकट नेता मानिन्छन् । १० वर्षे सशस्त्र युद्धको दौरानमा शर्माले साविक कर्णालीका विभिन्न जिल्ला इन्चार्जको रूपमा काम गरेका थए । साथै, शर्माले सैन्य मोर्चा पनि सम्हालेका छन् ।
को हुन शर्मा ?
१८ भदौ २०२८ मा रुकुमको चौरजहारी १४ नुवाकोटमा जन्मेका शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । २०४१ सालमा आयोजित माओवादी निकट अनेरास्ववियूको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका शर्मा त्यसपश्चात् राजतन्त्रविरुद्ध वकालत गर्दै समकालीन राजनीतिमा उदाएका थिए ।
शर्माले स्कुले जीवनकै क्रममा २०४३ मा सदरमुकाम पुगेर विद्यार्थीहरूलाई संगठित बनाई राजनीतिमा आफ्नो प्रभाव बढाएका हुन् । शर्माले २०४६ मा हालका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु महामन्त्री रहेको नेकपा ९मसाल० को सांगठनिक सदस्यता लिएका थिए । उनी २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताको रूपमा राजनीतिमा होमिएका हुन् ।
२०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी बन्यो । त्यसको १ वर्षपछि २०५२ फागुन १ गते प्रचण्ड नेतृत्वमा सशस्त्रयुद्ध सुरु भएपछि शर्माको भूमिगत राजनीति सुरु भएको थियो ।
२०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर ुजनयुद्धुका लागि फौजी आधार तयार गर्नमा शर्माले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सशस्त्र युद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण संघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिँदै जनयुद्धपूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जाको नेतृत्व गरेका थिए ।
२०५४ मा साविक कर्णालीका जिल्लाहरूमा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गरेका थिए । त्यतिबेला दैलेखमा माओवादीविरूद्ध प्रतिकार अभियान चलाइएको थियो ।
सशस्त्र युद्धको विस्तारका लागि शर्माले २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गरे । सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला ईन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेल्दै कर्णालीमा सशस्त्र युद्धका लागि आधार इलाका निर्माणमा महत्त्वपूर्ण भूमिका शर्माले खेलेका छन् ।
तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबीच विस्तृत शान्ति पक्रियामा हस्ताक्षर हुँदा शर्मा थरुहट राज्य दाङ, बाँके, बर्दिया र कैलाली, कन्चनपुरको प्रमुख थिए । २०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभाग, पार्टीको जिल्ला कमिटी इन्चार्ज, प्रदेशको संस्थापन अध्यक्ष, २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्रीको बनेका हुन् । शर्माले कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरेका छन् । उनी पार्टीमा आर्ट नामले परिचित छन् । नेपाली रैवारबाट
झिल्को खबर । २८ पुष २०७९, बिहीबार ०७:४५