सुर्खेत । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताउदै आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताए । उनले भने, “राष्ट्र, राष्ट्रिय र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ संकल्पसहित अगाडि बढेको छ । यो यात्रा मोर्चाको आन्दोलन हो ।”
क्रान्तिकारीहरुलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकतावद्ध ढंगले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुक र नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर कम्युनिस्टहरुले आन्दोलनलाई गन्तव्य पुर्याउनुपर्नेमा जोड दिए । कम्युनिष्टहरुको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका बताउदै उनले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गरे ।
सम्बोधनको क्रममा उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाई सुरु भएको र अब यो नरोकिने प्रतिवद्धता व्यक्त गरे । “सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अँझ पेचिलो गरी अगाडि बढ्छ,” उनले भने, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्छ ।” उनले जनाताको सुख, मुलुकको समृद्धि, आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको लागि मोर्चा अपहिार्य आवश्यकता भएको प्रतिक्रिया दिए ।
समाजवादी मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई यसले समाप्त पार्ने बताएका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुशी भएको प्रतिक्रिया दिए । सोही क्रममा उनले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दैै परिवर्तनको पक्षमा अग्रसर भई राम्रा काम गर्दा हटाउँछु भन्नेलाई हटाएर देखाउन चुनौति दिए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने कुरा मिथ्या भएको प्रतिक्रिया दिएका उनले माओवादी र स्वयं प्रचण्डै त्यस्तो विषय आएपनि छोड्न नहुनेमा जोड दिए । उनले सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएकोसमेत जिकिर गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउने क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । मुलुकलाई आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चाको आवश्यक भएको उहाँले जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले समाजवादी मोर्चाका कारण सरकार ढल्छ कि भन्ने आंकलन गरिएपनि कुनैपनि हालतमा यो सरकार नढल्ने दाबी गरे ।
कम्युनिष्टहरु मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको बताउँदै उनले भने, “मोर्चा बन्दा कांग्रेसलई चिसो पस्यो कि भन्ने आंकलन गरिएको छ । त्यो गलत हो बरु वर्तमान सरकार जोगाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ । एकतामा शक्ति मिल्ने र शक्तिमा तागत जुट्ने भएकोले समाजवादी शक्तिहरु एक ठाउँमा आई पुगेका छन् ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ल प्रतिगामी शक्ति र प्रति क्रान्तिकारीहरुले कम्युनिष्टहरुलाई देखी नसहेको आरोप लगाए । क्रान्तिलाई पूर्णता दिएमात्र प्रति क्रान्तिकारी ध्वस्त हुने उनको भनाई थियो । महासचिव विप्लवले भने, “हाम्रो साझा निष्कर्ष होः समाजवादी मोर्चाको एउटै उद्देश्य हो, अब बचेखुचेका दलाल पूँजीवादलाई ध्वस्त पार्नु हो । नेपाललाई दलाल पूँजीवादी सत्ताबाट समाजवादी सत्तामा रुपान्तरण गर्नु हो ।”
झिल्को खबर । १४ भाद्र २०८०, बिहीबार २३:२८