सुर्खेत । राष्ट्रिय खेलकुद परिषदको ११८ औं बोर्ड बैठक कोरम नपुग्दा स्थगित भएको छ ।
शुक्रवार बस्ने ११८ औं बोर्ड बैठकमा कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोक्ने लगायतका एजण्डाहरु समाबेश गरिएका थिए । तर कोरम नपुगेका कारण बैठक स्थगित भएको छ ।
राष्ट्रिय खेलकुद परिषदले परिषदका अध्यक्ष एवं विभागिय मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज ११८ औं बोर्ड बैठक बोलाएको थियो उक्त बैठकमा सातवटै प्रदेशका खेलकुद सदस्य–सचिवहरुलाई समेत पदेन सदस्यको रुपमा बोलाएको थियो ।
आज बस्ने भनिएको बोर्ड बैठक स्थगित भएसँगै अब कर्णाली प्रदेशमा आयोजना हुँने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित भएको छ ।
कर्णाली प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य–सचिव विश्वामित्र संज्यालले प्रदेश सरकारको स्वीकृतीमा प्रस्तावित मिति समेत लिएर गएका थिए । तर बैठक कोरम नपुगेका कारण स्थगित भएकाले अब कर्णाली प्रदेशले तोकेको प्रस्तावित मिति पनि झन अन्यौल बनेको छ ।
गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न पश्चात कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता ०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्न आयोजकको जिम्मेवारी लिदै झण्डा ग्रहण गरेको थियो । तर राष्ट्रिय खेलकुद परिषदको तोकि सकेको मितिमा कर्णाली प्रदेशमा ०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका कारण हुँन सकेको थिएन ।
पन्द्र महिनासम्म बोर्ड बैठक नबोलाएका मन्त्री चौधरीले यो पटक पनि कोरम नपुग्ने गरी बैठक बोलाउनुलाई संकाको रुपमा हेरिएको छ ।
झिल्को खबर । १४ मंसिर २०८१, शुक्रबार १५:२४