नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता बन्नुहुने भएको छ।

हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

त्यसअघि बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखडलाई पर्यवेक्षक तोकेको थियो । दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्यायलगायत मुख्यमन्त्रीका लागि आकाङ्क्षी रहेका थिए ।

गुप्ता शालिमारबागबाट विजयी हुनुभएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो ।

यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।