माओवादीमा ’पार्टी छाडेर फर्किनेहरूलाई बढुवा, पार्टीमै बसेकाहरू जस्ताको तस्तै’


सुर्खेत । नेकपा (माओवादी केन्द्र) भित्र हाल यस्तो प्रवृत्ति देखिएको छ, जसमा पार्टी छाडेर बाहिर गएका र पछि पुनः फर्किएका नेताहरुलाई उच्च जिम्मेवारी दिइने गरिएको छ। तर, पार्टीमा निरन्तर क्रियाशील रहँदै आएका कार्यकर्ताहरू भने अझै पनि पहिलेको पदमै सीमित छन्।

पार्टीसँग एकता गर्ने नेताहरूलाई अघिल्लो भूमिकाका आधारमा जिम्मेवारी दिने नीति रहेको बताइए पनि, केही नेताहरूले आफू सरहका साथीहरूलाई उछिन्दै उच्च पद पाएकोमा गुनासो गरेका छन्। यसले गर्दा पार्टीभित्र लामो समयदेखि इमानदारीपूर्वक योगदान दिँदै आएका नेता कार्यकर्ताहरूमा असन्तुष्टि बढेको देखिन्छ।

एक वरिष्ठ माओवादी नेताका अनुसार, “हिजो प्रचण्ड नेतृत्वको आलोचना गर्दै पार्टी छाडेर जानेहरू अहिले पुनः फर्केर उच्च जिम्मेवारी पाउँछन्। तर, हामीजस्ता निरन्तर पार्टीमा रहँदै आएका कार्यकर्ताहरूको अवस्था भने उस्तै छ। यस पार्टीमा बढुवा हुनका लागि पार्टी छोडेर जानुपर्नेजस्तो देखिन्छ।”

सोमवार जनयुद्ध समयदेखि माओवादीमा सक्रिय रहँदै पछि बाबुराम भट्टराईसँगै नयाँ शक्ति नेपालमा लागेका सिन्धुलीका गंगानारायण श्रेष्ठ पनि करिब १० वर्षपछि पुनः माओवादी केन्द्रमा फर्किएका छन्। श्रेष्ठले आफ्नै नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रमा गाभ्दै ५ बुँदे सहमति गरे ।

ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठबीच ५ बुँदे सहमतिमा हस्ताक्षर भयो। सो सहमतिअनुसार श्रेष्ठले माओवादी केन्द्रमा सचिव पदको जिम्मेवारी पाएका छन्।

२०७२ सालमा संविधान जारी भएपछि भट्टराईले असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति गठन गरेका थिए। त्यसयता माओवादी केन्द्र बाहिर रहेका श्रेष्ठ अहिले सचिव पदमा फर्किएका छन्, जबकि उनी सरहका कतिपय पुराना नेताहरू हाल स्थायी समिति सदस्य छन्।

प्रचण्डले श्रेष्ठलाई स्थायी समिति सदस्यका रूपमा राख्न प्रस्ताव गरे पनि उनले एकता भाव देखिने गरी सचिव पदमै अडान राखेका थिए। यस घटनाले माओवादी पार्टीभित्र संस्थापन नेतृत्वले पार्टी नछोडी बसेका नेताहरूको तुलनामा पार्टी फुटाएर फर्किएकाहरुलाई बढी प्राथमिकता दिने गरेको आरोपसमेत पैदा भएको छ।

सोमवार भएको कार्यक्रममा प्रचण्डले आफैंले पनि यस्तो अवस्था रहेको कुरा स्वीकारेका थिए, जसले नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।