नेपालली महिला फुटबल टोलीले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

सुर्खेत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्यान्डसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्यान्डसँग उसैको घरमा दुई खेल हुने जानकारी गरायो। एन्फाका अनुसार एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप यो खेल हुन लागेको हो।

एन्फाले एक खेल अन्तर्राष्ट्रिय र एक अनौपचारिक फुटबल हुने जनाएको छ। पहिलो खेल मे ३० मा हुनेछ भने दोस्रो जुन २ मा हुनेछ। बैंककमा हुने दोस्रो खेलले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीहरूको प्रारम्भिक टोली घोषणा गरिसकेका छन्। टोलीले मे ४ देखि बन्द प्रशिक्षण सुरु गर्नेछ। एसिया छनोटको समूह ‘एफ’मा रहेको नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग खेल्नेछ।

प्रारम्भिक प्रशिक्षणमा बोलाइएको खेलाडीमा गोलकिपरहरू अञ्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, कोपिला खड्का, लीला जोशी, सावित्री किसन र उषा नाथ छन्।

डिफेन्डरमा अमृता जैशी, विमला विक, गीता राना, मनमाया दमाईं, निशा थोकर, पूजा राना, प्रतीक्षा चौधरी, सविना चौधरी, सजनी थोकर, समीक्षा घिमिरले, सेमिहाङ्मा लिम्बू, यशोधा शाही छन्।

मिडफिल्डरमा अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, कुशुम खतिवडा, प्रीति राई, रेनुका नगरकोटे, सविता रानामगर, सहारा लिम्बू, सम्झना लावती, सरस्वती हमाल, सुरु लिम्बू, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मिया, सुस्मा तामाङ र तुलसा बोहरा छन्।

त्यस्तै, स्ट्राइकरमा अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर राना, ममता पुन, मीना देउवा, पुर्निमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी र समीक्षा मगर छन्।