जागिर र कर्मचारी खोज्ने दुवै पक्षलाई सघाउन सरकारद्धारा श्रम पोर्टल शुरू

काठमाण्डौ । सरकारले रोजगारदाता र उद्यमीबीच समन्वय गर्न ‘श्रमसंसार पोर्टल’ सञ्चालनमा ल्याएको छ । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ‘श्रमसंसार पोर्टल’ को शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्न पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने र एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्या समाधान हुने प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले श्रमिकको अधिकार रक्षा र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभयो ।

‘श्रमसंसार पोर्टल’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको श्रम बजारसम्बन्धी आधिकारिक सूचना प्रवाह गर्ने सञ्जाल हो । मन्त्रालयका अनुसार यसबाट श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना उपलब्ध हुन्छन् ।

यो पोर्टल सङ्घ तथा प्रदेश सरकारको समन्वयमा हरेक पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ ।

सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र रोजागार खोज्ने व्यक्तिले समेत आफ्नो सीपको विज्ञापन गर्नसक्ने यस पोर्टलको विशेषता हो ।