

सुर्खेत । वीरेन्द्रनगरको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि सुरु गरिएको भेरी लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ। भेरी नदीको पानी पम्पिङ गरी आपूर्ति गर्ने लक्ष्यसहित अघि बढेको परियोजनाले हालसम्म करिब ९ सय रुख हटाइसकेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए । पहिलो चरणमा वीरेन्द्रनगर–८, ११ र १२ का सामुदायिक वनका रुख काटिएको छ भने दोस्रो चरणमा लेकबेँसी नगरपालिका–१० मा रुख कटान अगाडि बढाइनेछ। वीरेन्द्रनगर र लेकबेँसीका विभिन्न स्थानमा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएसँगै एक हजार पाँच सय रुख कटानको स्वीकृति मिलेको प्रमुख साहको भनाइ छ। आयोजना अन्तर्गत पाइपलाइन विस्तार कार्य पनि तीव्र गतिमा चलिरहेको छ। वीरेन्द्रनगर उपत्यकामा ३५ किलोमिटर पाइप बिछ्याउने योजनामध्ये अहिले १३ किलोमिटर काम पूरा भएको छ। चालु आर्थिक वर्षभित्र सम्पूर्ण स्थानमा पाइपलाइन विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यससँगै वीरेन्द्रनगर–११, अमृतडाँडामा पूर्वाधार निर्माण पनि सुरू गरिएको छ। पर्खाल निर्माणका काम अगाडि बढाइएका छन् र केही दिनभित्र अन्य संरचनात्मक काम पनि थालिने जनाइएको छ। अमृतडाँडामा ९० लाख लिटर क्षमताका तीन पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ, जसमा भेरी नदीको पानी सिधै ल्याइ प्रशोधन गरिने योजना छ । आयोजनाले हालसम्म १३ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। बाँकी काम पनि तीव्रगतिमा अघि बढाइने र तोकिएको समयमा सम्पन्न गरिने परियोजनाले जनाएको छ। भेरी लिफ्टिङ खानेपानी आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता २०८१ भदौ १२ देखि लागू भएको छ, जसअनुसार २०८४ भदौ १२ भित्र काम सकिनुपर्नेछ। करिब तीन अर्ब पाँच करोड रुपैयाँको ठेक्का सम्झौतामा विश्व बैंकले कुल लागतको ७० प्रतिशत व्यहोर्नेछ भने बाँकी ३० प्रतिशत संघ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था छ ।

झिल्को खबर । २१ मंसिर २०८२, शनिबार २०:४३