

काठमाडौं । निर्वाचन आयोगले देशभरका छ हजार ७४३ वडामा आगामी ३ फागुनदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै देशभरका सबै वडामा एकरएकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।
स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन् । आयोगले विगतदेखि सबै स्थानीय तहमा एकरएकजना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो । आसन्न निर्वाचनमा पनि तिनै सम्पर्क व्यक्तिलाई निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको रूपमा तोकेको आयोगले जनाएको छ ।
मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघ महिनाको अन्तिमसम्म भइसक्ने गरी काम भइरहेको प्रवक्ता भट्टराईले बताए । आयोगका आधिकारिक सामाजिक सञ्जालका पेजबाट समेत निर्वाचनसम्बन्धी आवश्यक सामग्री प्रचारप्रसार भइरहेको छ ।
आमसञ्चार माध्यममार्फत् पनि मतदाता शिक्षा र निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाइने उल्लेख गरिएको छ । यस कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्ने विश्वास गरिएको छ ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई निर्वाचन आचारसंहितासँगै मतदान प्रक्रियाबारे सही रूपमा जानकारी प्रदान गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत गरेको हो ।
निर्वाचनमा आम नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको प्रयोग तथा मतदान विधिबारे समयमै जानकारी दिने उद्देश्यले यही १९ माघमा मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको हो । सोही बमोजिम आयोगले काम गरिरहेको आयोगका सहसचिव भट्टराईले जानकारी दिए ।
नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ को दफा १७ बमोजिम निर्वाचन आयोगले मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम तयार गरी स्वीकृत गरेको उनले बताए ।
आम नागरिकलाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु, मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि गरी बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले बताए । मतदाता शिक्षाका लागि आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम्सेवक परिचालन गरिने आयोगले जनाएको छ ।

झिल्को खबर । २९ माघ २०८२, बुधबार ०६:२५