

सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार कालीकोटका स्थानीय तहहरूमा पचालझरना गाउँपालिका उत्कृष्ट बनेको छ । पचालझरनाले ६५.०५ अंक प्राप्त गर्दै जिल्लाभर पहिलो स्थान हासिल गरेको हो ।
प्रतिवेदनअनुसार तिलागुफा नगरपालिका ६३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने पलाँता गाउँपालिका ६१.९८ अंकका साथ तेस्रो स्थानमा परेको छ । त्यसैगरी रास्कोट नगरपालिका ६०.६ अंकसहित चौथो स्थानमा रहँदा नरहरिनाथ गाउँपालिकाले ५५.६८ अंक प्राप्त गरी पाँचौँ स्थान ओगटेको छ ।
खाडाचक्र नगरपालिकाले ५०.३५ अंक प्राप्त गरेको छ भने महाबै गाउँपालिकाले ४६.३० अंक ल्याएको छ । शुभकालीका गाउँपालिका ४३.६७ अंकसहित आठौँ स्थानमा रहेको छ भने सान्नीत्रिवेणी गाउँपालिका ४१.६९ अंकसहित सबैभन्दा पछाडि परेको छ ।
कार्यसम्पादन मूल्यांकनमा योजना कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाह, पारदर्शिता तथा सुशासनका सूचकहरूलाई आधार मानिएको आयोगले जनाएको छ । यस मूल्यांकनले स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

झिल्को खबर । १ फाल्गुन २०८२, शुक्रबार ०७:३६