मैनतडा रंगशालाको सम्भाव्यता अध्ययन सुरु

सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कर्णाली प्रदेशले खेलकुद भौतिक पूर्वाधार निर्माणको लागि सम्भाव्यता अध्ययन थालेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल र इन्जिनियर भुपेन्द्र जैशी सहितको टोलिले सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ८ स्थित मैनतडा रंगशालाको सम्भाव्यता अध्ययन थालेको छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काको निर्देशनमा संघीय सरकारले नै आयोजना सम्पन्न गर्ने गरी रंगशालाको सम्भाव्यता अध्ययन गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।

‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै छ हामी कर्णालीमा खेलकुद पूर्वाधार जति सक्दो छिटो निर्माण गर्नेमा छौ,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘यहाँ मैनतडा रंगशालाको बनावट र यसको सम्भाव्यतालाई हेर्दा क्रिकेट रंगशाला र बहुउदेश्यीय कवर्ड हल निर्माण गर्न सकिने देखिन्छ ।’

यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले संघीय सरकारले यो रंगशाला निर्माणको अपनत्व लियो भने स्थानीयको सकरात्मक सहयोग रहेमा भनेको समयमा नै रंगशाला निर्माण गरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यहाँ पनि एक इभेन्ट राख्न सकिने बताए ।

भेरीगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुसे कामीले रंगशाला निर्माणको लागि प्रदेश सरकार र संघीय सरकारले पहल गरे स्थानीय स्तरबाट आफुहरु सहयोगको लागि तयार रहेको बताए । ‘हामीलाई चाहिएको विकास हो यहाँ जो ले विकास गर्छ त्यसको लागि स्थानीय स्तरबाट सहयोग नुहने कुरै भएन उनले भने ।’

रंगशाला निर्माणको प्राविधिक पक्षबारे जानकारी दिदै सदस्य सचिव विश्वामित्र संज्याल र कामबारे निर्देशन दिदै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले रंगशालाको बनाउनका लागि संघीय सरकारका तर्फबाट पहल थाल्ने र यसको लागि बजेटको अभाव हुन नदिने बताए । ‘प्राविधिक पक्ष कस्तो छ त्यो तपाइहरु हेर्नु कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालाई निर्देशन दिदै उनले भने,’ ‘अरु रंगशालाको लागि के के मिलाउनु पर्छ त्यो म आफै मिलाउछु ।’