कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालय भवनको उद्घाटन

सुर्खेत । कर्णाली प्रदेश लेखा नियन्त्रकको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले भवनको उद्घाटन गरेका हुन् । यो भवन प्रदेश सरकार बनिसकेपछिको पहिलो भवन हो । ५ करोड ३१ लाख ५७ हजार ९५५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन ०७८ वैशाख ११ गते तत्कालिन अर्थमन्त्री विमला केसीले शिलान्यास गरेकी थिइन् । निर्माणको जिम्मा पाएको शिवशक्ति चक्रेश्वरी जेभी नयाँ बानेश्वर काठमाडौँले तोकिएको मिति भन्दा ८ महिना अगावै भवन सम्पन्न गरेर नमुनका काम गरेको छ । प्रदेशमा करोडौँ बजेटका दर्जनौँ भवनहरु ठेकेदारले अलपत्र पारिरहेको अवस्थामा शिवशक्तिले तोकिएको समयभन्दा पहिलानै भवन हस्तान्तरण गरेको हो । ०७९ साउन ११ गते कार्यसम्पन्न गरिएको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिए । चारतले उक्त भवन देशैभरका प्रदेश लेखा नियन्त्रकको कार्यालय मध्ये पहिलो भवन हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री सिंहले ठेकेदारहरुले ठेक्काहरु समयमै नसक्ने प्रवृत्तिले विकास र परिवर्तनका क्षेत्रमा असर परिरहेको बताए । यद्यपि यो भवन निर्माणको जिम्मा पाएको कम्पनीले समयमै भवन सकेर उदारणीय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

गत बिहीबार मात्र अर्थमन्त्रीको जिम्मेवारी पाएका सिंहले फरक प्रसंगमा प्रदेशमा योजना माग्नेहरुको तछाँडमछाँड रहेको कुरा उल्लेख गरेका थिए । प्रदेश सरकारको पुँजिगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै त्यसको समाधान खोज्नुपर्ने सिंहको भनाइ थियो । प्रदेशमा ३४ अर्बको बजेट ल्याइने तर, अन्तिममा आएर १८ अर्ब रकमान्तर गर्ने कार्य भइरहेको बताउँदै त्यसको अन्त्य हुनुपर्ने उनको तर्क थियो ।

‘योजना तर्जुमाका लागि यसअघि होटलमा छलफल भएको कुरा सुन्नामा आएका छन्, मेरो हकमा त्यो हुँदैन,’ सिंहले भने,‘ प्रदेशको हकमा अब टुक्रे योजनाको अन्त्य गरिने छ । पालिकाको तहमा हुने योजना पालिकाले बनाउँछ, संघले बनाउने संघले र प्रदेशले बनाउने योजना प्रदेशले बनाउनुपर्छ । प्रदेशको दायित्वभित्र पर्ने योजना मात्र प्रदेशले बनाउनुपर्छ ।’

साथै उनले जेठ महिना भन्दा पछाडि रकमान्तर गर्ने कुरा अब बन्द गरिने दाबी गरे । ‘बर्षभरी बजेट कार्यान्वयन नहुने अन्तिममा आएर रकमान्तर गर्ने, यो प्रवृत्ति राम्रो होइन,’ सिंहले भने,‘ अब त्यसलाई रोक्छु ।’ साथै फरक प्रसंगमा सिंहले वर्तमान अवस्थामा राजनीतिक दल र नेताप्रति जनताको बुझाइ राम्रो नभएको बताए । ‘तर, यो व्यवस्था नराम्रो चाहीँ होइन,’ उनले भने,‘ गणतन्त्रपछि मात्रै नेपाल निर्माणको चरणमा प्रवेश गरेको हो । बास्तवमा राज्य र जनताको बिचमा भेट नहुँदा जनतामा निराशा छाएको हो ।’

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले सुरुवाती दिनहरुमा प्रदेश सरकारले कार्यालयको अभावमा आफ्नो कार्य संचालन गरेको स्मरण गरे । तत्कालिन आर्थिक मामलिा तथा योजना मन्त्री प्रकाश ज्वालाले बर्षाको बेला चुइने भवनमा बाल्टी थापेर सुरुवाती दिनहरु बिताएको भन्दै त्यसको प्रत्येक्षदर्शी आफु रहेको भन्दै त्यस्तो अबस्थाबाट अहिले कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयले आफ्नै भवनबाट सेवा दिन पाउदा आफु निकै खुसी लागेको बताए ।