सुर्खेत । रुकुम पश्चिमको चौरजहारीमा स्थापना भएको यातायात ब्यवस्था सेवा कार्यालयको सेवा उद्घाटन विभिन्न मितिमा गरी तीन पटक उद्घाटन भएको छ । जसमा नगर प्रमुख देखि मुख्यमन्त्रीसम्मले तीन पटक सेवा उद्घाटन गरेका छन ।
पछिल्लो पटक आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक औपचारिक कार्यक्रमका विच तेस्रोपटक कार्यालयको सेवा शुभारम्भ गरे ।
यातायात सेवा कार्यालय खासमा औपचारिक रुपमा पहिलो पटक तत्कालिन चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले सेवा उद्घाटन गरेका थिए । २०७६ भदौं २६ गते चौरजहारीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी यातायात सेवा ब्यवस्था कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालय उद्घाटन भएपनि लामो समयसम्म यस कार्यालयले सामान्य कार्यालय सञ्चालन बाहेक सेवा दिन सकेन । त्यसबेला कार्यालय प्रमुख तोकिएका प्रदिप रेग्मीले कर्मचारी अभावका कारण कार्यालय उद्घाटन गरिएको भएपनि सेवा दिन नसकिएको बताउने गरेका थिए ।
एक पटक उद्घाटन गरिसकेपछि पुनः पटक पटक सस्तो राजनीतिक लोकप्रियताको लागि सेवा उद्घाटन गर्न आवश्यक देखिदैन । तर त्यसको करिब ३ बर्षपछि फेरी कार्यालयको सेवा फेरी दोस्रो पटक उद्घाटन भयो । त्यसबेला नयाँ कार्यालय प्रमुखको रुपमा आनन्द चपाई समेत आईसकेका थिए । २०७९ फागुन २१ गते कार्यालयमा एक औपचारिक कार्याक्रमको विच दोस्रो पटक उद्घाटन भएको थियो । जसको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । शर्मा रुकुम पश्चिमबाटै प्रदेशसभामा निर्वाचित सांसद हुन भने चौरजहारी उनको गृहनगर समेत हो । त्यसबेला कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयबाट एक सेवाग्राहीको ब्लुबुक नविकरण भएर हस्तान्तरण गरेसंगै सेवा सुचारु भएको उद्घाटन गरिएको थियो । त्यसपछि कार्यालयबाट प्रदान गरिने सेवाका प्रकृया र सेवाहरु सुचारु भएको थियो ।
यसैविच आईतबार मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा चौरजहारी आएर तेस्रो पटक कार्यालयको सेवा शुभारम्भ भएको उद्घाटन गरे । आईतबार कार्यालय परिसरमा आयोजना भएको एक कार्यक्रमका बिच मुख्यमन्त्री शर्माले एक सेवाग्राहीको सवारी चालक अनुमति पत्र प्राप्त गर्ने प्रकृयाको चरण मध्यको एक चरणको रुपमा रहेको वायोमेट्रिक गर्नेे सेवा शुभारम्भ गरे । अब सवारी चालक अनुमति पत्र प्राप्त गर्न गरिने लिखित परिक्षा, प्रयोगात्मक ट्रायल उद्घाटन देखि चौरजहारी सेवा कार्यालयबाटै परिक्षा लिएर प्राप्त गर्ने
अनुमति पत्र वितरण गर्दा सम्म धेरै पटक उद्घाटन गर्नुपर्ने देखिन्छ । यता यातायात ब्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चपाँइले भने रुकुम चौरजहारीको सेवा कार्यालयबाट सवारीचालक अनुमतिपत्र दिने कुरा महत्वपूर्ण भएका कारण मुख्यमन्त्रीले पनि दुई दुई पटक उद्घाटनमा समय दिएको बताए ।
‘शुरुको उद्घाटनको बारेमा त मलाई खासै थाहा भएन सामान्य होला तर म आईसकेपछि भएका दुईवटा सेवा उद्घाटन महत्वपूर्ण कुरा हुन, हल्का रुपमा लिनु हुदैन’ उनले भने, ‘रुकुमबाट लाइसन्स प्राप्त गर्ने कुरा चानचुने होईन, महत्वपूर्ण विषय भएको हुँदा नै मुख्यमन्त्रीलाई उद्घाटनमा बोलाईयो र उहाँले पनि समय दिनुभयो ।’
झिल्को खबर । १७ श्रावण २०८०, बुधबार १३:३५