वीरेन्द्रनगरमा अर्को क्रिकेट मैदानको शिलान्यास

क्रिकेट मैदानको शिल्यान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको दक्षिण तिरको मैदानमा इन्डोर,आउटडोर दोस्रो क्रिकेट खेल मैदान र देउडा पार्क निर्माणको बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिल्यान्यास गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद मार्फत कार्यन्वयनमा आउने सो आयोजना अभियान कन्स्ट्रक्सन काठमाण्डौले निर्माण जिम्मा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो। यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ।

चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिच निर्माण र इन्डोर क्रिकेट हल निर्माण हुने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए। उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको हो ।

पछिल्लो समय कर्णालीका क्रिकेट खेलाडीले कर्णालीमा क्रिकेट मैदान नहुदा पनि राम्रो नतिजा ल्याएको भन्दै सदस्य सचिव संज्यालले कर्णालीमा क्रिकेटको क्रेज धेरै बढ्ने भएकाले दुई वटा क्रिकेट खेल मैदानको आवश्यकता रहेको बताए ।

शिलान्यास पछि कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दशौं राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वको रूपमा विकास हुने अपेक्षा गरिएको जानकारी गराउँदै त्यसका लागि दत्तचित्त भएर सरकार लागिरहेको बताए।

कर्णालीको खेलकुद पाँच ‘प’ अर्थात प्रतियोगिता,प्रशिक्षण,प्रोत्साहन,पुरस्कार,पूर्वाधार निर्माणको नीति अनुसार अघि बढिरहेको बेला खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न अनुरोध गरे।

खेलाडीलाई पुरस्कारका लागि चिन्ता नगर्न सुझाव दिँदै मुख्यमन्त्री शर्माले कर्णाली चिनाउन र दुई अंकको मेडल प्राप्त गर्ने गरी खेलाडीलाई प्रतिस्पर्धा गर्न आग्रह गरे ।

दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरू समेटिने जानकारी दिदै उनले समग्र क्षेत्रमा जीवन सहज बनाउन सरकार लागिरहेको बताए ।

यस्तो छ निर्माण कार्यको समय तालिका ।
निर्माण सम्पन्न पछि यस्तो देखिने छ क्रिकेट मैदान र देउडा पार्क ।