३८औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा दौड प्रतियोगिता

सुर्खेत । ३८ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा वीरेन्द्रनगर सुर्खेतमा ५ किलो मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्ताहव्यापी रुपमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले आयोजना गरेको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाका विभिन्न विद्यालयका ४ सय बढी छात्र छात्राहरुले भाग लिएका थिए । छात्रा र छात्रको छुट्टाछुट्टै रुपमा सञ्चालन गरिएको प्रतियोगितामा छात्राहरु मंगलगढी र छात्रहरु एयरपोर्टचोकदेखि विद्यालयसम्म दौडिएका थिए । छात्रा दौड प्रतियोगिताको एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले उद्घाटन गरेका थिए भने र छात्र दौड प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले गरेका थिए । उपाध्यक्ष हमालले प्रतियोगिताको उद्घाटन गर्दै दौड प्रतियोगिता स्वास्थ्यको लागि महत्वपूर्ण हुने भन्दै दौड प्रतियोगिता आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिएका छन् ।

प्रतियोगिताको छात्रा तर्फ लालिगुराँस मावि भेरीगंगा सुर्खेतकी छात्रा कृष्णा रानाले प्रथम स्थान हासिल गरेकी छन् भने त्यस्तै द्वितीय स्थानमा नेरामावि वीरेन्द्रनगरकी उर्मिला खनाल रहेकी छिन् भने तृतीय र सान्त्वना स्थानमा क्रमशः एसओएस हर्मन माइनर विद्यालय सुर्खेतकी बिमला कार्की र हरिडिलभूमी विद्यालयकी पूर्णिमा बुढा रहेकी छिन् । त्यस्तै छात्र तर्फ नेरामावि डाँडा स्कुलका अनिल शाहीले प्रथम स्थान हासिल गर्दा जनज्याति मावि बड्डीचौर सुर्खेतका अजय विकले द्वितीय भएका छन् । तृतीय स्थानमा रमेश बुढा र सान्त्वनामा शिव मावि लाटिकोइलीका भुवन चालिसे भए भने विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४०००, ३०००, २००० र १५०० नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।

दौडको समापनसँगै विद्यालयमा पुरस्कार वितरण कार्यक्रम पनि समन्न गरिएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य हरिहर बस्नेतले विद्यालयले बालबालिकाको चौतर्फी पक्षको ख्याल गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाउने गरेको र हरेक वर्ष अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा आन्तरिक र वाह्य दौड प्रतियोगिता सञ्चालन गर्ने गरेको बताए । केही दिन अघि विद्यालयले टेम्पुपार्कबाट आन्तरिक दौड प्रतियोगिता सञ्चालन गरेको थियो ।