सुर्खेत । दोस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले जितेका छन् । विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटरको हाफ म्याराथन उनले एक घण्डा नौ मिनेट १९ सेकण्डमा पूरा गरेका थिए ।
एक घण्टा नौ मिनेट २४ सकेण्डमा दौड पूरा गरेका राजन रोकाय दोेस्रो भए । तेस्रो भएका रामजी बस्नेतले सो दौड एक घण्टा नौ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । विजयी खेलाडीहरूलाई क्रमशः एक लाख, ५० हजार र ३० हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको थियो ।
यस्तै, पुरुषतर्फको १० किलोमिटर दौडको उपाधि रत्नबहादुर खत्रीले प्राप्त गरे । खत्रीले निर्धारित दूरी ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दा ३३ मिनेट ५० सेकेण्डमा पार गरेका थिरबहादुर बुढा दोस्रो र रनबहादुर परियार तेस्रो भए । परियारले ३४ मिनेट ४८ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । १० किलोमिटरतर्फ प्रथम भएका खत्रीले १० हजार, द्वितीय बुढाले सात हजार प्राप्त गर्दा तृतीय भएका परियारले पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।
यस्तै, महिलातर्फको १० किलोमिटर दौडको उपाधि विमला कार्कीले प्राप्त गरिन् । उनले निर्धारित दूरी ४४ मिनेट १६ सेकण्डमा पार गरिन् । दोस्रो संगिता बुढा र तेस्रो गिता सुवेदी भइन् । बुढाले ४४ मिनेट ५९ सेकेण्ड र सुवेदीले ५१ मिनेट ४४ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । १० किलोमिटरतर्फ प्रथम भएका कार्कीले १० हजार, द्वितीय बुढाले सात हजार प्राप्त गर्दा तृतीय भएकी सुवेदीले पाँच हजार पुरस्कार प्राप्त गरिन् ।
पुरुषतर्फ भएको पाँच किलोमिटर दौडको उपाधि अनिल शाहीले प्राप्त गर्दा भरत राना दोस्रो र सन्तोष शाही तेस्रो भए । उनीहरूलाई पनि क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो ।
यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा स्वस्तिका शाहीले प्रथम स्थान हासिल गर्दा कृष्णा राना दोस्रो र उर्मिला कँडेल तेस्रो भइन् । विजयी खेलाडीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित सम्मान गरिएको थियो ।
पुरुषतर्फ भएको तीन किलोमिटर दौडको उपाधि साजन वलीले प्राप्त गरेका छन् । वली प्रथम हुँदा नारायण रेग्मी दोस्रो र नैनसिंह बुढा तेस्रो भए । विजयी तीनै खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले बताए ।
यस्तै, पत्रकारतर्फको तीन किलोमिटर दौडको उपाधि पत्रकार हृदय रिमालले प्राप्त गरे । रिमाल प्रथम हुँदा रमेशकुमार पाण्डे दोस्रो र सुरजकुमार सिंह तेस्रो भए । प्रतियोगितामा विजय पत्रकाहरूलाई क्रमश तीन हजार, दुई हजार र एक हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
कर्णाली खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्ट्रन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता संचालन गरिएको हो । संयोजक हमालले खेलकुदसँग सरकार र निजीक्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताए । एथलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको संयोजक हमालले बताए ।
झिल्को खबर । ७ असार २०८१, शुक्रबार १५:१३