भाग्ने क्रममा जाजरकोटका तीन सहीत रुकुम पश्चिमका तीन जना घाइते , घरहरु थप जोखिमपूर्ण

सुर्खेत । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् । जाजरकोटको कुशे गाउँपालिका–९, पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा उनीहरू घाइते भएका हुन्।

घाइते हुनेमा भेरी नगरपालिका–२, रिसाङकी ४९ वर्षीया कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर बिहान डिस्चार्ज गरिएको छ ।

यसैबिच , रुकुम पश्चिमका तीन जना घाईते भएका छन् ।रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार भूकम्पको कारण त्रिवेणी गाउँपालिका –८ पेउघाका १६ वर्षीय खम्बु बिक, बाँफिकोट गाउँपालिका –८ झुला निवासी १६ वर्षिया हिमाली देवकोटा र सानीभेरी गाउँपालिका –३ बेलटापु निवासी सीता पुन घाईते भएका छन ।

भूकम्पको डरले भाग्ने क्रममा घाईते भएपछि त्रिवेणीका बिक र बाँफिकोटकी देवकोटालाई जिल्ला अस्पताल सल्लेमा भर्नामा गरिएको छ । पुनको भने घरमै उपचार भईरहेको बताईएको छ ।

जिल्ला अस्पतालका प्रमुख डा. महेश चौलागाँईका अनुसार बिकको बाँया खुट्टा भाँचिएको छ भने देवकोटाको ढाडमा चोट रहेको छ । उहाँलाई बेहोस भएको भन्दै आफन्तले राती नै अस्पताल ल्याएका थिए । बिकको खुट्टाको अप्रेशन गरिने छ भने देवकोटाको अवस्था सामान्य बन्दै गएको छ ।

यसैगरी भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा घरहरू चर्किएका छन् भने केहि घर भत्किएका छन् । आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले मानविय क्षति नभएको तर घरहरुमा क्षति भएको जानकारी दिनुभयो ।