सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी ६ वैशाखमा हुने भएको छ । संघको १४औँ नयाँ कार्य समिति चयनका लागि आगामी चुनाव ६ वैशाख २०८२ मा हुने भएको हो ।
संघको सोमबार बसेको कार्यसमितिको बैठकले ६ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको महासचिव भद्र भण्डारीले जानकारी दिए । उनका अनुसार आगामी निर्वाचन प्रक्रियामा सहभागिताका लागि योग्य हुन २५ फागुन २०८१ भित्र सदस्यता नवीकरण गरिसक्नु पर्ने समेत संघले निर्णय गरेको छ ।
विगतमा समयमै निर्वाचन नहुँदा थुप्रै अविश्वास र आशङ्काहरू उब्जने गरेको यो पटक समयमै निर्वाचन गराउन थालेको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।
संघको निर्वाचन कार्यविधि २०७६ अनुसार निर्वाचन समितिलाई एक महिनाअघि नै मतदाता नामावली लगायतका सम्पूर्ण कागजपत्र बुझाइ सक्नुपर्ने भएकाले २५ फागुनसम्म नवीकरणका लागि अन्तिम म्याद तोकिएको संघले बताएको छ ।
२५ फागुनदेखि ५ चैतसम्म आन्तरिक प्रक्रिया गरी ६ चैतमा निर्वाचन समितिलाई सम्पूर्ण कागजपत्र बुझाउने गरी तयारी थाल्ने अध्यक्ष भण्डारीले बताए । ‘त्यस उता निर्वाचन समितिले आफ्नो काम र प्रक्रिया थाल्नेछ,’ उनले भने ।
निर्वाचन समितिसँग समन्वय गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन अध्यक्ष कँडेलको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्यहरू टोपेन्द्रजंग शाही, अर्जुनजंग शाही र भुवन ज्ञवाली सदस्य रहेको समिति पनि गठन गरिएको छ ।
झिल्को खबर । ७ माघ २०८१, सोमबार २१:०६