सुर्खेत । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले प्रचण्ड नेतृत्वको सरकारले हिजोका काला कर्तुतमाथि निर्मम भएर अग्रसर हुँदा अत्तालिएर कांग्रेस–एमाले एक ठाउँमा आएको बताएका छन् । हिजो आफुहरुले गरेका काला कर्तुतको ढाकछोपका लागि नै उनीहरु मिलेको शाहीको भनाइ छ ।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले अहिलेको गठबन्धन बन्नुमा नेपालको भू–राजनीति पहिलो कारण रहेको बताए ।
‘यो देश भूगोल रणनीतिक महत्वको छ । जसका कारण अन्तर्राष्ट्रि«य शक्तिहरुले आफ्नो प्रभुत्व नेपालमा जमाउन चाहन्छन्,’शाहीले भने, ‘त्यसका लागि आफ्नो असल पात्र वा दलाल चाहिएको छ र उनीहरुले बनाउँछन् । हरेक चुनावमा पनि वाह्य शक्तिले चलखेल गर्छ ।’
चलखेल गर्न सजिलो होस् भनेर नै नेपालमा स्पष्ट बहुमत कुनै पनि राजनीतिक दलको आउन नदिन बाह्य शक्तिले प्रभाव जमाउने गरेको शाहीको भनाइ छ ।
शाहीले अगाडि भने, ‘अहिले कांग्रेस–एमालेले अस्थिरता भएकाले स्थिरताका लागि हामी ठुला दलहरु मिलेका हौँ भनिरहेका छन् । स्थिरता त हिजो राजा, राणा, पञ्चायतकालमा पनि थियो । समर्ग विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको कुरामा देश कमजोर रह्यो । सीमित मान्छेहरु राज्यसत्ताको घेरामा थिए । सबैको नियत भनेको देश बनाउने नभई आफ्नो मुनाफातिर केन्द्रीत रहे ।’
देशमा भएको सम्पुर्ण स्रोत उनीहरुले नै लुटेर नै खाएको र उद्योग धन्दाहरु पनि यिनीहरुले नै बेचेको आरोप शाहीले लगाए । यिनीहरु नयाँ अनुहार नभएको र यिनीहरुले हिजो यो देशमा के–के गरे भन्ने कुरा आम नागरिकलाई थाह भएको शाहीले बताए । ‘यिनीहरु भनेका देश लुट्ने र लुटाउनेहरु नै हुन्,’ शाहीले भने, ‘कांग्रेस–एमाले मिल्यौं भने त एकतन्त्रिय शासन गर्न सक्छौँ भन्ने यिनीहरुको लक्ष्य हो । नयाँ आएका शक्तिहरुले विगतमा उनीहरुले गरेका कमजोरीहरु उधिन्न थालेपछि अत्तालिएका हुन् ।’
कांग्रेस–एमालेले विगतमा गरेका कालोधन्दा, भ्रष्टाचार र अनियमितताका काण्डहरु खोलिन थालेपछि आफुहरु जनताको अगाडि नाङ्गिने डरले एक ठाउँमा आएको शाहीले बताए । ‘अस्थिरता उनीहरुले बाहिर देखाउने एजेण्डा हो, उनीहरुको मेन कुरा हिजो आफुहरुले गरेको कालो धन्दाको ढाकछोप गर्नका लागि मिलेका हुन्,’उनले भने, ‘ढाकछोप गर्न सत्तामा जाने बाहेक अर्को विकल्प नभएपनि उनीहरुले यसो गरेका हुन् ।’
भुटानी शरणार्थी काण्डदेखि बेचन झा पक्राउ परिसकेपछि कांग्रेस–एमाले अत्तालिएको उनले बताए । ‘यदि पवित्र गठबन्धन थियो भने, वानेश्वर, सिंहदरबार वा कुनै पार्टी कार्यालयमा बसेर सम्झौताको छलफल गरेको हुन्थे नि,’उनले भने, ‘उनीहरुको सम्झौता एक व्यापारीको घरमा भयो, यहीबाट प्रष्ट हुन्छ कि कांग्रेस–एमालेलाई मिलाउने को हो ?’ अहिलेको गठबन्धन अस्थिरताको अन्त्य हैन कि देशलाई फेरी निरङ्कुशतातर्फ लाद्ने नियतका साथ बनेको शाहीको आरोप छ ।
शाहीले केपी ओली गणतन्त्र र सङ्घीयता विरोधी भएको आरोप लगाए । ‘म मुख्यमन्त्री भएका बेला एक कार्यक्रममा ओलीले प्रदेश कहाँ सरकार हुन, यी एउटा प्रशासनिक निकाय हुन भनेर भने,’ शाहीले भने, ‘उनले सङ्घीयता स्वीकार नै गरेको अवस्था छैन । त्यसैले उनीहरुले गरेको सहमति भनेको प्रतिगमन फर्काउने र ०४७ फर्काउने छन् ।’
उनीहरु त्यही बाटोमा हिडेपछि हिजो राजालाई नागार्जुनको जङ्गलमा पठाएजस्तै कांग्रेस–एमालेहरु पनि त्यही स्थितीमा पुग्ने छन् । सोही कुरालाई मध्यनजर गर्दै जनतालाई बुझाउने उद्देश्यसहित माओवादी जनतामाझ फर्कने शाहीले बताए ।
झिल्को खबर । २९ असार २०८१, शनिबार १३:१२