पर्यटकलाई कर्णाली चिनाउँदै सीप

 

तीन वर्षको छँदै बुवा गुमाएका पातारासी–६ का ३० वर्षीय बुढालाई १८ वर्षअघि विदेशीसँग रारा हुँदै फाक्सुन्डो तालसम्मको ‘ट्रेकिङ’ गर्ने मौका मिल्यो । गैरसरकारी संस्था इसिमोडले गर्न लागेको एक कार्यक्रमका दौरान बुढालाई इसिमोडकै सतानन्द उपाध्यायले विदेशी पर्यटकसँग जाने वातावरण बनाइदिए । १२ वर्षको कलिलै उमेरमा पर्यटकको २५ किलोको भारी बोकेर उनी ‘ट्रेकिङ’मा निस्किएका थिए । त्यसताक दैनिक सात सय रुपैयाँ पाउँथे रे ।

त्यही अवसरले नै बुढालाई पछि ‘ट्रेकिङ’ पर्यटक गाइड बन्न प्रेरित गरिदियो । पछि इसिमोडकै उपाध्यायले बुढालाई ‘ट्रेकिङ’ थाल्ने भए अंग्रेजी बोल्न सिक्नुपर्ने सल्लाह पनि दिए । उनी दुई वर्ष भेडीगोठालो बनेपछि पर्यटन डुलाउने सोचले यता लागेको बताउँछन् । ‘पहिले पाटनमा भेडा डुलाइ हिँड्थे । यतिबेला हिमाल, तालतिर टुरिस्ट डुलाइहिँड्छु,’ बुढा अहिलेको आफ्नो काममा पूर्ण सन्तुष्ट रहेको बताउँछन् । त्यसो त उनको खुबी देखेर छिमेकी पनि दंग पर्छन् ।

बुढाले १२ कक्षासम्मको पढाइ जुम्लामै सकेर क्याम्पस पढ्न काठमाडौं गए । जनसंख्या तथा वातावरण विषयमा स्नातकोत्तर गरे । काठमाडौंमा रहँदा सबै साथीहरू दसैंतिहार मनाउन घर फर्किन्थे । बुढा भने पर्यटकको भारी बोक्न डाँडाकाँडातिर हानिन्थे । यसबापत दैनिक १२ सय रुपैयाँ पाउँथे । त्यसैले पढाइ खर्चको जोहो पनि हुन्थ्यो । पर्यटक लिएर लाङटाङ, तिलिचो ताल, मनाङ, मुस्ताङ, सगरमाथा आधारशिविर क्षेत्रमा जान थाले । दसैंतिहारको एक महिने बिदामा उनी ३०–४० हजार कमाएर काठमाडौं फर्किन्थे, अनि फेरि पढाइमा लाग्थे ।

झन्डै ७ वर्ष पर्यटकसँग घुमेपछि उनले गाइडको लाइसेन्स पाए । पर्यटकहरू पनि बुढालाई निकै मनपराउँछन् । कोरोना महामारीका कारण ‘ट्रेकिङ’ व्यवसाय पनि थलियो, त्यहीबेला नै उनले पर्यटकलाई कर्णाली घुमाउने उद्देश्यले ट्राभल कम्पनी खोले । ‘नेपालको कर्णाली पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । तर पर्यटकमैत्री संरचना र पर्यटन क्षेत्र देखाउने माध्यम नहुँदा समस्या भयो,’ उनले भने, ‘अब आन्तरिक र बाह्य पर्यटक घुमाएर आर्थिक अवस्था चलायमान गर्ने जिम्मेवारी कर्णालीका युवाको काँधमा आइपुगेको छ ।’ उनलाई अहिले पनि केही पर्यटन व्यवसायीले पोखरातिर कामका लागि बोलाउँछन् । तर उनी भन्छन्, ‘अब आफ्नै क्षेत्रको भारी बोकेर कर्णाली चिनाउनेछु । बेरोजगारलाई रोजगारी दिने र कर्णाली चिनाउने गरी लागेको छु ।’

कर्णालीको पर्यटन क्षेत्र पछि पर्नुको कारण गुरुयोजना बनाएर अघि बढ्न नसक्नुलाई ठान्छन्, उनी । उसो त उनले पातारासी गाउँपालिकामा पर्यटन बोर्ड गठन गरेर पर्यटकीय गतिविधि पढाइरहेका छन् । बोर्डको गठनसँगै पर्यटकीय सम्भावनाका खोजी सुरु भइसकेको छ । ‘भीरपहरा, तालतलैया, वनजंगल र हिमाल मात्र पर्यटकीय क्षेत्र होइनन्,’ उनले भने, ‘परम्परागत रीतिरिवाज, संस्कृति पनि पर्यटक भित्र्याउने माध्यम धेरै छन् ।’

पछिल्लो समयमा पर्यटक भित्र्याउने नाममा केबुलकारको डीपीआर बनाउने, भ्युटावर बनाउनेदेखि भीरपाखामा सडक पु¥याउने नाममा डोजर चलाउने कार्यको चर्को विरोध गर्छन् बुढा । ‘केबुलकार बनाएपछि दैनिक पाँच÷सात हजार पर्यटक भित्र्याउनुपर्ने हुन्छ । सबै केबुलकार चढ्छन् भन्ने छैन । तैपनि पाँच सय जनाले केबुलकार चढ्लान् । त्यो नियमित हुन सक्दैन,’ उनले भने, ‘बरु आन्तरिक तथा बाह्य पर्यटक आउने वातावरण बनाइदिनुप¥यो । कर्णालीमा हवाईसेवा नियमित बनाइदिनुप¥यो । सडक चार लेनको बनाइदिनुप¥यो । कर्णालीमा रहेको प्राकृतिक सुन्दरतासँग साक्षत्कार गर्न पर्यटक आफैं आइपुग्छन् ।’ अहिले बुढा कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटका सबै ठाउँमा घुमिरहेका छन् । उनी एक साताअघि मात्रै २८ दिनको ‘ट्रेकिङ’ गरेर फर्किए । केही दिनमै ताल टू ताल टुर गर्ने पर्यटकको टोली कर्णाली भित्रिन लागेको छ । उक्त टोलीलाई रारा, जगदुल्ला र फोक्सुन्डो लैजाने तयारी भइरहेको उनले सुनाए ।

कर्णालीका पहाड हाइकिङ गर्ने जस्ता छन् । वषौं पुराना संस्कृति छन् । तालतलैया कर्णालीमै छन् । खस उपत्यका, पातारासी हिमाल, ठाकुर ज्यु, बिष्ट ज्युजस्ता धार्मिक पर्यटकीय स्थल छन् । गिडीदह जुम्लामै छ । यिनीहरूको भरपूर उपयोगले मात्रै कर्णाली समृद्ध बन्न सक्ने उनको तर्क छ । दशकअघि बुढाले तीन वर्ष गाउँको विद्यालयमा उनले पढाए । आफ्ना धेरैजसो साथी लोक सेवातिर हानिए पनि बुढाले पर्यटन क्षेत्र छोड्न मानेनन् । अहिले उनी कर्णालीका पर्यटकीय क्षेत्रका बारेमा फर्रर भन्न सक्छन् ।

बुढाले पर्यटक घुमाएर पर्यटन क्षेत्रको प्रचारप्रसार मात्र गरेका छैनन् । उनले जुम्ला सदरमुकाम खलंगामा झन्डै ८० लाख लगानीमा घर बनाएका छन् । ‘विदेशै गएको भए पनि घर र जग्गा नै किन्थे होला । त्योभन्दा ठूलो प्रगति केही हुन्थेन । तर उनले पर्यटन क्षेत्रमा भविष्य राम्रो छ । धेरै ठाउँ पुग्न पाइएको छ ।’ उनका अनुसार पाँच सयभन्दा बढी विदेशी र एक हजारभन्दा बढी आन्तरिक पर्यटकसँग ‘ट्रेकिङ’ गरिसकेका छन् । ‘पहिले विदेशीलाई नेपाल देखायौं । अब नेपालीलाई नेपाल देखाउने सोच छ । पहिले भरिया मात्रै नेपाली हुन्थ्यो । सबै पर्यटक विदेशी थिए । अब भरिया र पर्यटक पनि नेपाली नै भित्र्याउने योजना छ,’ उनले भने ।

बुढाले तान्जानिया, चीन र भारतमा समेत ‘ट्रेकिङ’ गरिसकेका छन् । नेपालका ५३ जिल्लामा हिँडेका छन् । ‘हामी मंसिरदेखि फागुनसम्म चिसो छल्न सुर्खेत नेपालगन्ज झर्छौं । अब सबै गर्मी छल्न कर्णाली आउने वातावरण बनाउनुपर्छ,’ उनले योजना सुनाए । आराम र सुविधाको पक्षमा विदेशी पर्यटक कहिल्यै हुँदैनन् । उनीहरू साहसिक यात्राका साथमा प्रकृति बुझ्न र नियाल्न चाहन्छन्, नौलो अनुभव बटुल्न सौखिन देखिन्छन् ।

‘डोल्पाको लेकाली क्षेत्र पुग्दा वर्षायाममा उर्लने पाटनका खोला कात्तिकमा भने तेल सकिन लागेका बत्तीजस्तो मधुरो गतिमा बगिरहेका देखिन्छन्,’ बुढाले भने, ‘वन्यजन्तु र चराको चिरबिर आवाज र पाटनको दृश्यले विदेशी रोमाञ्चित र उत्सुक भइरहेका हुन्छन् । अब यतातिर अन्तरिक पर्यटकलाई पनि बढाउने योजना छ ।’

कान्तिपुरका लागि जुम्लाबाट डिबी बुढाले लेखेको समचार