पुटिनलाई पक्राउ गर्न युक्रेनको आग्रह

मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ।

पुटिनलाई ‘युद्ध अपराध’मा संलग्न रूसी नेताको संज्ञा दिँदै आएको किभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई धन्यवाद पनि दिएको छ।

युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ।’

मार्च २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले सन् २०२२ को सुरुमा मस्कोको आक्रमणपछि युक्रेनी बालबालिकालाई जबर्जस्ती रूसमा निर्वासित गरेको विषयमा युद्ध अपराधको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

शेनबामका विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेले मेक्सिकोसँग कूटनीतिक सम्बन्ध भएका हरेक देशका नेतालाई उद्घाटन समारोहमा आमन्त्रण गर्नु ‘मानक प्रोटोकल’ भएको बताएका छन्।

मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न लागेकी शेनबामले गत जुन २ मा भएको आम निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकी थिइन्। उनलाई बधाई दिने विश्वका नेताहरूको पंक्तिमा पुटिन र जेलेन्स्की पनि रहेका छन्।