

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका कर्णालीको पहिलो बाल विवाहमुक्त पालिका घोषणा भएको छ । बिहेवारी २० वर्ष पारी भन्ने नारासहित हिमालाई बाल विवाहमुक्त पालिका घोषणा गरिएको हो । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सो कार्यक्रममा हिमा गाउँपालिकालाई बाल विवाहमुक्त पालिका घोषणा गरेका हुन् ।
हिमा गाउँपालिकाले भौतिक पूर्वाधारभन्दा मानव विकासलाई प्राथमिकता दिने उद्देश्यले केही वर्षदेखि बाल विवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएको थियो । ७ वटै वडाहरूलाई बाल विवाहमुक्त घोषणा गरिसकेपछि गाउँपालिका स्तरमा यो उपलब्धि हासिल गरिएको छ ।
हिमा गाउँपालिका नेपाल सरकारको बालविवाह न्यूनीकरण राष्ट्रिय रणनीति, २०७२ तथा बाल विवाहमुक्त सर्वेक्षण तथा रणनीति, २०७९ अनुसार बाल विवाहमुक्त घोषणा भएको हो । गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख राज्यलक्ष्मी रावलद्वारा प्रस्तुत प्रतिवेदन अनुसार विगतमा यो क्षेत्र बालविवाहको दृष्टिले चुनौतीपूर्ण रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०८०–०८१ मा कुल १३२ जोडीले विवाह गरेका थिए । जसमा सबै जनाले उमेर पुगेपछि मात्र विवाह गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री शाहले हिमा गाउँपालिकाको यो कदम ऐतिहासिक र प्रेरणादायी भएको बताए । हिमाले देखाएको मार्गले कर्णालीको सामाजिक रूपान्तरणमा नयाँ पहिचान दिलाउने उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बालविवाह जस्तो सामाजिक विकृतिको अन्त्यलाई मानवीय जीवनसँग जोडिएको गम्भीर विषयका रूपमा लिएर उच्च प्राथमिकता दिएको बताए । बालविवाह अन्त्य हुनु भनेको समाज सुदृढ हुनु रहेको उल्लेख गर्दै यस अभियानले किशोरीहरूको शिक्षा, स्वास्थ्य र रोजगारमा सुधार ल्याउने उनको दावी छ ।
यो अभियानअन्तर्गत सडक नाटक, देउडा कार्यक्रम लगायतका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए । गाउँपालिकाले बाल संरक्षण नीति लागू, बालविवाहमुक्त अभियान निर्देशिका, बाल अधिकार संरक्षण समिति गठन (पालिका, वडा र विद्यालय तहमा) जस्ता सम्पूर्ण मापदण्डहरू पूरा गरेको छ ।

झिल्को खबर । १५ जेष्ठ २०८२, बुधबार ०७:३१