

नेपाल विविध संस्कृति, जातजाति, भाषा र परम्पराको धनी देश हो। यहाँको लोककला, नाचगान, चाडपर्व र मौलिक संस्कारहरू नेपाली पहिचानका मेरुदण्ड हुन्। तर विडम्बना के छ भने, यी मौलिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा विश्वविद्यालयहरूकै चासो कमजोर देखिन्छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मध्य पश्चिम बिस्वबिध्यालय प्रदेशकै प्रमुख शैक्षिक संस्था हो। यद्यपि, विश्वविद्यालयमा स्थानीय कला, संस्कृति र लोकसम्पदाका विषयमा पठनपाठन र अनुसन्धानको अवसर निकै सीमित रहेको तथ्य विभिन्न स्रोतबाट पुष्टि हुँदै आएको छ।
कला र संस्कृति जस्तो मौलिक र राष्ट्रिय पहिचानसँग जोडिएको विषय उच्च शिक्षाको मूलधारमा नपर्नु एउटा गम्भीर चिन्ताको विषय हो। वर्तमानमा नेपाली विश्वविद्यालयहरूमा व्यवस्थापन, विज्ञान, शिक्षा, समाजशास्त्रजस्ता विषयहरू चलनचल्तीमा छन्, तर आफ्नै देशको मौलिक ज्ञान, परम्परा र सर्जनात्मकताको अध्ययन अत्यन्त न्यून मात्रामा हुँदै आएको छ। विद्यार्थी, शोधार्थी तथा स्थानीय बौद्धिक समुदायको धारणा अनुसार यो अवस्था केवल शैक्षिक कमजोरी नभएर सांस्कृतिक उपेक्षा पनि हो। “हामीले कर्णालीको संस्कृति पढ्न खोज्दा बिदेशी लेखकको पुस्तक पढ्नुपर्ने अवस्था छ,” एक स्नातकोत्तर विद्यार्थी भन्छन्।
यस्ता उदाहरणले देखाउँछ कि नेपाली विश्वविद्यालयहरूले स्थानीय सन्दर्भको ज्ञान उत्पादनमा ध्यान नदिँदा राष्ट्रिय मौलिकता संकटमा पर्ने खतरा छ। विशेषगरी कर्णाली प्रदेश जस्तो जातीय र भाषिक विविधता रहेको क्षेत्रमा स्थानीय ज्ञान र परम्पराको संरक्षण, अध्ययन र प्रवर्द्धन अनिवार्य हुनुपर्छ।
शिक्षाविद्हरूको भनाइमा, विश्वविद्यालय तहमा कला र संस्कृतिको उपस्थिति नहुनु केवल शैक्षिक पक्षको कमजोरी होइन, यो दीर्घकालीन सामाजिक असर पार्ने खालको उपेक्षा हो।
समस्या के छन्?
१. शैक्षिक नीतिमा स्थानीय संस्कृतिको महत्व छुट्नु
२. कला र संस्कृति विषयको संकायको स्थापना नहुनु
३. अनुसन्धानका लागि बजेट, स्रोत र दक्ष जनशक्तिको अभाव
४. पाठ्यक्रम अझै पनि पश्चिमी ढाँचामा आधारित हुनु
५. विश्वविद्यालय प्रशासन र सरकारको बेवास्ता
समाधानका उपायहरू:
विश्वविद्यालयमा “Art, Culture and Heritage Studies” जस्ता विषय अनिवार्य वा ऐच्छिक रूपमा राखिनु पर्छ। • Karnali Studies Center जस्ता अनुसन्धान केन्द्र स्थापना गरी कर्णालीका मौलिक कला र संस्कृतिमा आधारित परियोजना सञ्चालन गरिनुपर्छ। • सोधपत्र, अनुसन्धान, स्थलगत अध्ययन मा विद्यार्थीलाई स्थानीय संस्कृति र कलामा केन्द्रित गरिनुपर्छ। • विश्वविद्यालयले समुदायसँग सहकार्य गर्दै दस्तावेजीकरण, संग्रहालय स्थापना, मौखिक इतिहास संकलनजस्ता काममा अग्रसर हुनुपर्छ।
शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग (UGC) तथा नीति निर्माताहरूले यो विषयलाई रणनीतिक तहमा लिन आवश्यक छ। केवल विदेशी ज्ञानको अनुकरणले नेपाली मौलिकता जोगिँदैन।
निष्कर्षमा
संस्कृति कुनै विशेष वर्गको मात्र होइन, सम्पूर्ण समाजको आत्मा हो। विश्वविद्यालयहरूमा यसको अध्यापन र अनुसन्धान नभएसम्म हाम्रो ज्ञान सम्पदा अपूरो रहन्छ। आजको आवश्यकताको माग यही हो कि कर्णाली लगायत सम्पूर्ण नेपालका विश्वविद्यालयहरूले कला र संस्कृतिलाई पाठ्यक्रममा समावेश गरी अनुसन्धानको मूलधारमा ल्याउनुपर्छ।
नत्र भने, हामी आफ्नै सम्पदा अरूको दृष्टिमा हेर्न बाध्य हुनेछौं र हाम्रा चाडपर्व, भेषभूषा, लोककथा र सांगीतिक परम्परा केवल म्यूजियम र पुस्तकालयमा सीमित हुनेछन्।
लेखक सुर्खेत वीरेन्द्रनगर स्थित होराइजन एकाडेमीका प्रधानाध्यापक हुन् ।

घनश्याम खड्का । २७ जेष्ठ २०८२, सोमबार १८:०६