४ टिम सहभागी प्रतियोगितामा नेपाल चौथो

बंगलादेशमा भइरहेको काभा यू–२३ पूरुष भलिबल च्याम्पियनसिपमा नेपाल जितविहीन बनेको छ ।

सोमबार ढाकामा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल श्रीलंकासँग पराजित भयो । प्रतियोगितामा नेपालले खेलेको पाँचवटै खेल हारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भयो । यसअघि लिग चरणमा पनि नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
श्रीलंकासँग नेपालले पहिलो सेट जिते पनि लय कायम राख्न सकेन । त्यसपछि लगातार दुई सेट गुमायो र चौथो सेट जित्दै खेल बराबरी गरेको थियो । तर पाँचौ तथा निर्णायक सेटमा नेपाल १५–१० ले पराजित भयो ।

पहिलो सेट नेपालले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट श्रीलंकाले २५–१९ र तेस्रो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनायो ।

चौथो सेटमा नेपालले पुनरागमन गर्दै २५–२० ले आफ्नो पक्षमा पारेर खेल बराबर गरेको थियो ।

तर अन्तिम सेटमा नेपालले लय कायम राख्न सकेन । अन्तिम सेट १५–१० ले आफ्नो पक्षमा पार्दै श्रीलंका खेल जितेर तेस्रो भयो ।

चार टिममात्र सहभागी प्रतियोगिताको फर्म्याट अजीवको थियो । समूह चरणमा सबैले सबैसँग खेलेर अंकका आधारमा चार टिमको वरीयता निर्धारण भएको थियो ।

तीमध्ये समूहको शीर्ष र अन्तिम हुने तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल खेलाइएको थियो ।

सेमिफाइनलमा पराजित टिमबीट तेस्रो स्थानका लागि अर्को खेल खेलाइयो ।

नेपालले प्रतियोगितामा पाँच खेल खेलेर एउटा पनि जित्न सकेन । उसले १५ सेट हार्दा ४ सेटमा जित निकालेको हो ।

प्रतियोगिताको उपाधिका लागि सोमबारै घरेलु टोली बंगलादेश र कीर्गिस्तानबीच फाइनल खेल हुनेछ ।