कर्णालीको खेलकुद विकासलाई केन्द्रको बजेट कम

सुर्खेत । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटले कर्णालीको खेलकुद विकासलाई समेट्न सकेन । कर्णालीका अन्य पूर्वाधारले प्राथमिकता पाएको भए पनि खेलकुद क्षेत्रमा केन्द्र सरकारले कुनै पनि शीर्षकमा बजेट छुट्याउन सकेन ।
अहिलेसम्मको खेलकुदको बजेट वितरण हेर्दा जुन प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ त्यो प्रदेशमा एक सुविधासम्पन्न रंगशाला निर्माण गर्दै आएको केन्द्र सरकारले कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भइसक्दा पनि खेल पूर्वाधारको लागि बजेट नछुट्याउनुमा केन्द्र सरकारले कर्णाली प्रदेशलाई खेल क्षेत्रमा समेत उपेक्षा गरेको देखिएको छ ।

कर्णालीमा २०८१ मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ । तर, केन्द्र सरकार यसप्रति पन्छिएको छ । अन्य प्रदेशमा प्रादेशिक रंगशालाका लागि बजेट विनियोजन गरेको भए पनि कर्णालीलाई भने उपेक्षा गरिएको छ ।

खेलकुद पूर्वाधारको अभाव रहेको कर्णालीमा प्रदेश सरकारले दशौँ खेलकुदका लागि प्रदेश रंगशाला निर्माणको काम अगाडि बढाएको भए पनि अन्य खेलकुद पूर्वाधार निर्माणका लागि बजेट अभाव छ । संघ सरकारले आगामी बजेटमा कर्णालीको खेलकुदलाई उपेक्षा गरेपछि दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुनेमा शंका उब्जिएको छ ।