एक क्वीन्टल भनिएको सुन जोख्दा ६० किलो भेटियो

फाइल तस्वीर

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्र तस्करी गरेर ल्याईएको सुन निकालेर जोखेको छ ।

यसरी जोख्दा सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ । गालेर जोख्न बाँकी छ ।

भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ,’ उनले भने । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो। तर अहिलेसम्म जोखिएको थिएन तर एक क्वीन्टल रहेको अनुमान गरिएको थियो ।