१९ औँ एशियाली खेलकुद प्रतियोगितामा कर्णालीबाट सदस्य सचिव संज्याल र ५ खेलाडी सहभागी

सुर्खेत । चीनको झेजियाङ प्रान्तको हाङ्झाउ सहरमा शनिबारबाट १९ औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड) सुरू भएको छ ।

प्रतियोगितामा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनछ । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गर्नुभएको थियो ।

उक्त समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न समारोहमा सहभागी हुनुभएको हो ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता रहेको छ । ‘भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर)’ मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्झाउ सहर दुलही झै सिंगारिएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शो समेतको व्यवस्थापन गरिएको छ ।

एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ। प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरूष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा कर्णालीका पाँच खेलाडी सहभागी

१९ औं एसियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट उसुका दिपक हमाल र कराँतेकी एलिसा रास्कोटी मगर सहभागि छन् । त्यस्तै विभागीय टिम शसस्त्र प्रहरी बलकी पुष्पा भण्डारी, नेपाल प्रहरीकी राजपुरा पछाई र नेपाली सेनाका राजन रोकाया पनि सहभागी छन् । भण्डारी सल्यान, पछाई र रोकाया जुम्लाका हुन् ।

कर्णाली प्रदेशबाट सहभागी हमाल र रास्कोटी मगर को हुन् ?

दिपक हमालः ०५१ सालमा सुर्खेतको छिन्चुमा जन्मेका दीपक हमालले २०७६ साल मंसीर १५ गतेदेखी २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा संचालन भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा स्वर्ण जितेका थिए । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका हमालले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन् । यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजतमा चित्त बुझाएका थिए । त्यस्तै २०७९ असोज २८ गतेदेखि ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हमालले उसुमा स्वर्ण पदक जितेका थिए । उनलाई कर्णाली प्रदेश सरकारले पुरस्कृत समेत गरेको थियो ।

एलिसा राष्कोटी मगरः सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ की २२ वर्षीया एलिसाले २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमुते र काता दुवैमा कांस्य पदक जितेकी थिइन् । त्यही सफलताको सम्मानमा प्रदेश सरकारले उनलाई २ लाख रुपैयाँले पुरस्कृत गर्यो।

यसअघि उनले कृष्ण प्रसाद भट्टराई खेल महोत्सव २०७९ को अवसरमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललिपतुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगितामा एकल कातामा रजत पदक जितेकी थिइन् । तीन वर्षअघि १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एकल कातामा रजत पदक जितेकी चन्चला दनुवारसँग फाइनलमा एलिसा पराजित भएपनि कडा टक्कर दिएकी थिइन । फाइनलमा चन्चलाले २४.५० अंक प्राप्त गर्दा एलिसाले २३.६८ अंक जोड्न सफल भएकी थिइन् ।

उद्घाटन समारोहमा सदस्य सचिव अतिथिको रुपमा सहभागी

चीनको हाङ्झाउ सहरमा सुरू भएको १९ औँ एशियाली खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र संज्याल पनि सहभागी हुनुभएको छ । उहाँलाई हाङझाव एसियाली खेल आयोजक कमिटीले १९ औं एसियाली खेलकुद प्रतियोगितामा अतिथिको रुपमा निमन्त्रणा गरेको थियो । सदस्य सचिव संज्याल शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।