प्रचण्डलाई बेलाबेला झोक चलाउने माओवादीमा कति छन् गुट

पुस २०७८ मा नेकपा माओवादी केन्द्रको महाधिवेशन हलमा सत्यनारायण भगतले गिरिराजमणि पोखरेलले महोत्तरीमा शहीद रामवृक्ष यादवको सालिक हटाएर निर्मल लामाको सालिक राख्ने तयारी गरेको आरोप लगाए ।

आरोप त्यतिमा मात्र सीमित भएन र पोखरेलमाथि अपराधीकै संज्ञा दिइयो । त्यही आक्रोशपछि पोखरेलले एक दिन महाधिवेशनको बन्दसत्र नै बहिष्कार गरे । भगतले नेता पोखरेलमाथि त्यति गम्भीर आरोप लगाउने हिम्मत नेता मातृका यादवको आडभरोसामा जुटाएका थिए ।

यादव माओवादीभित्र सधैँभरि नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलको विपक्षमा उभिइरहेका हुन्छन् । महाधिवेशनमा पोखरेल र यादव समूहबीच जस्तो घोचपेच र भनाभैरी चल्यो, त्यसको प्रत्यक्ष प्रभाव ३० वैशाख ०७९ को स्थानीय चुनावमा पर्‍यो । मधेस इञ्चार्ज गणेश साहको निर्णय पोखरेल र यादव दुवै समूहले नमान्ने स्थिति बन्यो । एकले अर्को समूहलाई टिकट वितरणमै रोक्ने, त्यति गर्न नसके चुनावमा बागी उठाएर भए पनि हराउने नीति लिए ।

त्यसको असर थियो, २१ पालिका जितेको माओवादी ९ पालिकामा झर्नु । त्यसको आक्रोश प्रचण्डले कर्णाली पुगेर पोखे । १७ भदौ ०७९ प्रचण्डले सुर्खेतमा भने, ‘धेरैजसो नेताहरूले भित्र–भित्रै गुट बनाए । भन्ने बेला माओवादी केन्द्र नै भनिरहे । त्यसैले हामीले स्थानीय तह निर्वाचनमा पहाडभन्दा धेरै तराई र मधेस प्रदेशमा हार्‍यौँ ।’ जुन सन्दर्भ पोखरेल, यादव र साहको गुटसँग जोडिएको थियो ।

मधेसको चुनावी परिणामका लागि पोखरेल, यादव र साहका तीनवटा गुटको झैझगडाले पार्टीलाई जसरी क्षति पुर्‍यो, त्यस्तै क्षति पार्टीभित्र रहेको वर्षमान पुन र जनार्दन शर्मा गुटबाट भइरहेको छ । एकले अर्कोको अस्तित्व अस्वीकार गर्ने मात्र होइन, बद्ख्वाइँ गर्नसमेत लाग्छन्, पुन र शर्मा । जस्तो, ऊर्जामन्त्री पुन भएको बेलामा प्रचण्डकै निर्देशनमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा अलमल गरे, त्यसको कारण घिसिङको सम्बन्ध शर्मासँग बढ्ता जोडिनु थियो । जुन बेला प्रधानमन्त्री केपी ओली प्राधिकरणमा घिसिङलाई नल्याउने मुडमा पुगे, अनि मन्त्री पुनले सिफारिस गरे । भर्नर महाप्रसाद अधिकारी हटाउने प्रकरणमा पुनले सार्वजनिक रूपमै विरोध गरेका थिए ।

यी सबै परिदृश्य देखेका अध्यक्ष प्रचण्डले १७ भदौ ०७९ मा कर्णाली पुगेर ‘गुटै गुटले हैरान छु, माओवादी पार्टी नै विघटन गर्दिऊँजस्तो लाग्छ,’ सम्म भने ।

माओवादीभित्रकै केही नेताहरूले आफू प्रचण्ड भनेर दाबी गरेको पनि उनले बताए । उनले कार्यकर्तालाई गुट उपगुट रोक्न पहल गर्न सक्नुहुन्छ भन्दै सोधेका थिए । उनले भने, ‘माओवादी कमजोर हुनुको कारण यही गुट–उपगुटको स्वार्थ नै हो । गुट रोक्न कार्यकर्ताले पहल गर्न सक्नुहुन्छ रु’ कर्णालीमा नेताको कारणले नभएर कार्यकर्ताको कारणले आएको उनले बताए । उनले भने, ‘त्यस्ता स्वार्थीलाई हटाउन झण्डा उठाउन सक्नुहुन्छ रु मलाई नेताहरूले भन्दा कार्याकर्ताहरूले बोलाएर आएँ ।’

माओवादी अध्यक्ष प्रचण्डले भनेझैँ माओवादीमा कति गुटरउपगुट छन् रु करिब ३५ वर्षभन्दा बढी पार्टीको एकल नेतृत्व गरेका प्रचण्डलाई नेतृत्वका लागि कसैले चुनौती नदिए पनि गुटको झमेला भने सधैँभरि ब्यहोर्दै आएका छन् ।

दोस्रो संविधानसभाबाट संविधान जारी हुँदासम्म आफ्नै समकक्षीहरूले गुट बनाएर चुनौती दिए पनि २०७२ सालपछि भने तेस्रो पुस्ताका नेताहरूले प्रचण्डलाई गुट बनाएर चुनौती दिन थालेका छन् ।

नारायणकाजी समूह

श्रेष्ठ समूह माओवादीमा स्थायी गुट हो । २०६५ माघमा माओवादी र एकता केन्द्रबीच एकता भएपछि श्रेष्ठको एक समूह बलियो रूपमा रहेको छ । यही समूहमा रहेका केही नेता असन्तुष्ट भएर माओवादीबाट बाहिरिएर आहुतिको नेतृत्वमा नयाँ पार्टी बनाएका छन् । तर पनि माओवादीभित्रको स्थायी समूह नारायणकाजीको नेतृत्वमा निरन्तर चल्दै आएको छ ।

पछिल्लो समयमा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आएको विवादमा पवन कार्की नेतृत्वको संस्थापनइतर समूहलाई श्रेष्ठ समूहले धाप दिएको छ ।

केही समयपहिला प्रचण्डसँग रुष्ट भएर श्रेष्ठले पार्टी छोड्ने घुर्कीसमेत लगाउन थालेका थिए । तर, उनको समूहका केही नेता प्रचण्डतिर लागेपछि यो समूह पहिलाको जस्तो एकताबद्ध छैन ।

वर्षमान समूह

माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनको पनि बलियो समूह छ । महासचिवको दाबी गरेका पुनको पनि माओवादीभित्र राम्रै प्रभाव राख्ने समूह रहेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

माओवादीमा पछिल्लो समयमा शक्तिशाली गुट बनाएका पुनले ४० जिल्लाका संगठनमा राम्रो पकड रहेको ती स्थायी कमिटी सदस्यले बताए । बिमारी भएर चीनमा उपचार गर्न गएको समयमा उनको समूह कमजोर बनेको थियो । यद्यपि, फर्केपछि पुनले त्यसलाई पुर्ताल गरेको ती सदस्यले बताए । पार्टीको लुम्बिनी र बागमती प्रदेश अध्यक्ष पुननिकट मानिन्छन् ।

जनार्दन शर्मा समूह

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माको पनि माओवादी केन्द्रमा सशक्त समूह छ । पुनसँग प्रतिस्पर्धा गर्ने समूह शर्माको नै रहेको माओवादीमा चर्चा हुने गर्छ । आफूनिकट नेताहरू केन्द्रीय कमिटीमा पनि बढी भएकाले उनले महासचिवमा दह्रो दाबी राखेका थिए ।

महासचिवका लागि केन्द्रीय कमिटीभित्र चुनाव भएको भए शर्मा प्रतिस्पर्धा गर्ने मुडमा थिए । उनीनिकट एक सदस्यले भने, ‘जनार्दन कमरेडको पनि बलियो समूह छ । त्यही भएर महासचिवमा चुनाव भए पनि भिड्ने मनसाय बनाउनु भएको थियो । तर, महासचिव देव गुरुङ सर्वसम्मत भएपछि त्यो च्याप्टर क्लोज भयो ।’

सातवटा प्रदेशमा दुई प्रदेश अध्यक्ष शर्मानिकट मानिन्छन् । प्रदेश नं। १ हर्क लिम्बू र कर्णाली प्रदेश अध्यक्ष विमला केसी शर्मानिकट मानिन्छन् ।

देव गुरुङ समूह

महासचिव देव गुरुङको पनि गुट छ । वैद्यबाट विद्रोह गरेर पुनः माओवादी केन्द्रमा रामबहादुर थापाको नेतृत्वमा फर्केको समूहको नेतृत्व गुरुङले गर्ने गरेको बताइन्छ । पहिला यो समूहको नेतृत्व थापाले गर्ने गरेका थिए । थापा एमाले प्रवेश गरेपछि यो समूहको नेतृत्व गुरुङले गरेको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

यो समूह पनि पहिलाजस्तो एक ढिक्का भने नरहेको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यका अनुसार उपमहासचिव पम्फा भुसालको टिम शर्मानिकट छ । जसका कारण पुन बलियो भनिएको १ नंं। प्रदेशमा अध्यक्ष शर्मानिकटले जितेका थिए ।

महरा समूह

माओवादीमा पछिल्लो समय कृष्णबहादुर महराको सानो समूह छ । उपाध्यक्ष महराको प्रभाव पार्ने गरी गुट नभए पनि सानो गुट भने सञ्चालनमा रहेको माओवादी नेता बाताउँछन् ।

उपगुट झन् चर्को

माओवादीमा प्रचण्डले भनेजस्तै गुटभित्र प्रदेशको शक्ति सन्तुलनअनुसार फरक उपगुट पनि छन्, जसले आफ्नो गुटकाले नपाएपछि अर्को गुटकालाई हराउन पनि पछि पर्दैनन् ।

१ नं प्रदेशमा पनि नेताअनुसारका गुट छन्, जसमा प्रदेश इन्चार्ज सुरेन्द्र कार्की र सह–इन्चार्ज सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशिला चापागाईंका आ–आफ्नै ससाना उपगुट छन् ।

कर्णालीमा पनि नेताअनुसार उपगुट छन् । जनार्दन शर्मा र शक्ति बस्नेतका यहाँ फरकफरक उपगुट छन् । बस्नेत मूल रूपमा वर्षमान पुनको गुटमा भए पनि उनको उपगुट पनि छ । दुवैको फरक–फरक गुट भएको भन्दै प्रचण्डले सुर्खेतमा आक्रोश पोखेको कर्णाली प्रदेश कमिटीका एक सदस्यले बताए ।

सुर्खेत विमानस्थलमा प्रचण्डलाई अर्थमन्त्री एवम् पार्टीका उप–महासचिव जनार्दन शर्मा ‘प्रभाकर’सहितका नेता स्वागत गर्न पुगेका थिए तर बस्नेत सहभागी भएनन् । उप–महासचिव बस्नेत प्रशिक्षण कार्यक्रममा सहभागी भए । कर्णालीमा शर्मा र बस्नेतका फरकफरक गुट छन् । कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसी शर्मानिकट मानिन्छिन् ।

सुदूरपश्चिममा खगराज भट्ट र विना मगरका उपगुट सक्रिय छन् । मगर पुननिकट र भट्ट शर्मानिकट मानिन्छन् । तर, भट्ट र पुनले केन्द्रीयभन्दा भूगोलअनुसार उपगुट चलाइरहेका छन् ।

मधेस प्रदेशमा तीन उपगुट छन् । मातृका यादव, गिरिराजमणि पोखरेल र गणेश साहका फरकफरक गुट छन् ।

पार्टीमा समस्या गुटका कारणले आएको हो भने त्यसको समाधान पार्टी नेतृत्व र सम्बन्धित कमिटीले दिनुपर्ने माओवादीका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपाने बताउँछन् । उनले भने, ‘पार्टीमा समस्याको पहिचान गुट हुन् भन्ने निष्कर्ष निकालेपछि त्यसको समाधान दिनुपर्छ । समयमा नै समस्याको हल भएन भने पार्टी गुटले खान्छ । त्यसपछि विघटन गर्नु पर्दैन । आफैँ सकिन्छ ।’

गुटको विगत

आन्तरिक गुटबन्दीकै कारण ८ वर्षको बीचमा माओवादी ५ टुक्रामा विभाजन भयो । त्यसरी विभाजनको मूल कारण युद्धकालदेखि नै सक्रिय गुटबन्दी थियो । युद्धकालमा तीन गुट सक्रिय रूपमा थिए । अहिले ती तीनै गुटका नेताहरू प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई तीन पार्टी बनाएर बसेका छन् । युद्धदेखि नै माओवादीको नेतृत्व गर्दै आएका प्रचण्डले पहिला आफैँले गुट सञ्चालन गर्ने गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले प्रचण्डले दोस्रो पुस्ताका नेताहरूलाई गुट चलाएको आरोप लगाएका छन् ।

वैद्यले प्रचण्डसँगको संगत ४ असार ०६९ मा रामबहादुर थापा बादल, पम्फा भुसाल, देव गुरुङ, सीपी गजुरेल, नेत्रविक्रम चन्दसहित बहुमत स्थायी समिति सदस्य लगेर छोडेका हुन् ।

दोस्रो संविधानसभाको मुखैमा उपाध्यक्ष वैद्यले प्रभावशाली नेताहरू लगेर नेकपा–माओवादी बनाए । प्रचण्डलाई साथ दिँदै आएका वैद्यले पार्टी छोडेपछि एउटा गुट सकिएको थियो । तर, शान्ति प्रक्रियासँगै नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकता गरेपछि अर्को गुट थपिएको थियो ।

भट्टराई र नारायणकाजी समूहको गुट भने माओवादी केन्द्रमा सक्रिय नै रहे । संविधानसभाबाट संविधान जारी भएलगत्तै उपाध्यक्ष बाबुराम भट्टराई १० असोज ०७२ मा एमाओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाउनतिर लागे ।

लामो समयदेखि प्रचण्डलाई राजनीतिक–वैचारिक रूपमा साथ दिँदै आएका डा। भट्टराईले साथ छाडेपछि प्रचण्ड माओवादीमा एकल नेताजस्तो देखिए । तर, पनि श्रेष्ठ समूह सक्रिय नै थियो ।  शिलापत्रबाट साभार