कर्णाली प्रदेशस्तरीय रग्बी सेभेन्सको उपाधि सल्यानलाई

सुर्खेत । कर्णाली प्रदेश रग्बी संघको आयोजनामा शनिवार सुरु भएको कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानले जितेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा शनिवार संचालन भएको प्रतियोगितामा दोस्रो सुर्खेत भयो भने तेस्रो रुकुम पश्चिम भएको छ ।

दुई दिनसम्म चल्ने भनिएको उक्त प्रतियोगिता शनिवार नै सकिएको छ । प्रतियोगितामा प्रथमलाई रु, ५१ हजा १ सय ११ दृतीयलाई रु, २५ हजार २ सय पच्चिस र तृतीयलाई रु, ११ हजार १ सय ११ सहित प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट बाहेक अन्य सात जिल्लाको सहभागिता रहेको प्रदेश रग्बी संघका अध्यक्ष सुरेन्द्र कुवँरले जानकारी दिए ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगिता आयोजना गरिएको भए पनि प्रतियोगितामा उल्लेखनिय दर्शकको उस्थितिले कर्णालीमा रग्बी खेल प्रतिको आक्रषण निकै बढ्ने सम्भावना रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।

‘हामीले सुरुमा आयोजना गर्दा कर्णालीको लागि नयाँ खेल भएकोले खेलाडी बाहेक अन्य दर्शकको उस्थिति रहदैनकी भन्ने थियो तर नयाँ खेल भएर पनि होला प्रतियोगिता अबधिभर दर्शकको क्रेज घटेन, ‘सदस्य सचिव संज्यालले भने,’ ‘हामी भाग्यामानी हौ पहिलो खेल आफ्नै मैदानमा गर्न पाएका छौ त्यसको लागि राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारलाई धन्यवाद दिन्छु ।’

‘कर्णाली प्रदेशमा अब रग्बी खेलले औपचारिक रुपमा प्रवेश पाएको छ हामी दशौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने गरी तयारी थाल्छौ, ‘रग्बी संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँरले भने,’ ‘यो हाम्रो सुरुवात हो बाँकी खेलले हामी देखाउछौ ।’