सुर्खेत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कर्णाली प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१ रनले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ४४.१ ओभरमा अलआउट हुनुअघि दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने ४४ ओभरमै अलआउट हुनुअघि एक सय ८५ रनमात्र बनाउन सक्यो ।
जारी प्रतियोगिताको लिग चरणमा कर्णाली र एपीएफ दुबैले आफ्नो अन्तिम खेल (नवौँ खेल) खेलेका हुन् । यी दुबै टोली उपाधि होडबाट बाहिरिएका छन् । नौ खेल खेलेको एपीएफ क्लबले पाँच जित र चार हारको नतिजा निकाल्यो । कर्णालीले भने नौ खेलमा चार जित र पाँच हारको नतिजा निकाल्यो ।
बुधबारको खेलमा ठूलो विजयलक्ष्य पछ्याएको एपीएफ क्लबका लागि आसिफ शेखले मात्र गतिलो प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान आसिफले शतक बनाए । विकेटकिपर ब्याट्सम्यान आसिफले एक सय आठ रनको योगदान गरे । उनले एक सय १२ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काए । कर्णालीका बलर प्रकाश जैसीले चार विकेट लिए । दीपेन्द्र रावत र युनिस सिंहले पनि दुई–दुई विकेट हात पारे ।
त्यसअघि कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको कर्णाली प्रदेशका लागि चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले ६२ रनको योगदान गरे । हिमांशुले अधिकांश रन बाउन्ड्री प्रहारबाट बटुलेका थिए । आक्रामक रुपमा प्रस्तुत भएका हिमांशुले ५० बलको सामना गरी सात छक्का र दुई चौका हिर्काएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले पनि अर्धशतकीय पाली खेले ।
विकेटकिपर ब्याट्सम्यान अर्जुनले ७४ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । केवल ३० रनको कुल स्कोरमा तीन विकेट गुमाएको कर्णालीलाई हिमांशु र अर्जुनले एक सय ४१ रनको गतिलो स्थितिसम्म पु¥याएका थिए ।
कर्णालीका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि २७ रनको योगदान गरे । उनले २४ बलमा तीन छक्का र एक चौका प्रहार गरे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाही भने २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रविन्द्रले ३० बलमा एक छक्का र तीन चौका हिर्काए ।
दिनेश अधिकारीले १९ बलमा चार चौकाको मद्दतले १९ रन बटुले । प्रकाश जैसी १० रन बनाउँदै आउट भए । पेभेलियन फर्किनुअघि ओपनर निश्चल रावलले १२ बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा भने केवल एक रन पाएको थियो ।
एपीएफ क्लबका बलर मौसम ढकालले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएका थिए । अमर रौतेलाले पनि दुई विकेट हात पारे । भुवन कार्की र रमेश कुर्मीले पनि एक–एक विकेट लिए ।
झिल्को खबर । १७ माघ २०८०, बुधबार १६:३३