भुकम्प प्रभावित क्षेत्रका छोरीहरुलाई ज्योति फाउन्डेसनले छात्रवृत्तिमा पढाउने

सुर्खेत । श्री ज्योति फाउन्डेसनले भुकम्प प्रभावित क्षेत्रका विद्यालयमा अध्ययनरत छोरीहरुलाई स्थानीयतहको सिफारिसमा पढाउने भएको छ ।

गत मंसिर १५ गते सुर्खेतमा भएको साँगीतिक साँझ कार्यक्रमबाट संकलन भएको रकमबाट भुकम्प प्रभावित जिल्लाहरु जाजारकोट, रुकुम पश्चिम र सल्यानका छोरीहरुलाई छात्रबृत्ति दिएर पढाउने फाउन्डेसनका अध्यक्ष ज्योती कटुवालले जानकारी दिइन् । फाउन्डेसनले साँगीतिक साँझ आयोजना गरेर २२ लाख ७५ हजार ४ सय ९७ रकम संकलन गरेको थियो । उक्त रकमको ब्याजबाट छात्रबृत्ति प्रदान गरिने अध्यक्ष कटुवालको भनाइ छ ।

कक्षा १ देखि १० कक्षासम्म सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई स्थानिय तहको सिफारिसका आधारमा छात्रबृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ । छात्रबृत्ति प्रदान गरिएका छात्राहरुका लागि स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि सुर्खेतस्थित निजी अस्पतालसंग सम्झौताको प्रक्रिया भइरहेको प्रतिष्ठानले जनाएको छ ।

हालसम्म सांगीतिक साँझबाट २२ लाख ७५ हजार ४ सय ९७ रकम संकलन भएकोमा सांगीतिक साँझ व्यजस्थापनमा ९ लाख ६१ हजार ३४ रकम खर्च भएकोमा बचत रकम १३ लाख १४ हजार ४ सय ६३ रकम बचत भएकोमा बचत रकमको ब्याचबाट आगामी शैक्षिक सत्रबाट भुकम्प प्रभावित क्षेत्रका छोरीहरुलाई पढाउने फाउन्डेसनले जनाएको छ ।