जनयुद्धलाई अस्वीकार गर्ने प्रवृतिबाट सचेत बनौंःनेता शाही

महेन्द्र बहादुर शाहीको फाइल फोटो ।

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले जनयुद्धबाट प्राप्त भएका उपलब्धिहरुको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने प्रवृतिबाट सचेत रहन आग्रह गरेका छन् ।

मंगलवार २९ औं जनयुद्ध दिवसको अबसरमा शुभकामना दिदै नेता शाहीले यस्तो बताएका हुन् । ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनैतिक उपलब्धिहरुलाई खोस्ने र मुलुकलाई फेरी पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा भैरहेको भन्दै नेता शाहीले जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गरेका छन् ।

नेता शाहीले शुभकामना सन्देशमा लेखेका छन् ‘निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले शुरु गरेको महान जनयुद्धको ऐतिहासिक दिन फागुन १ गते स्मरण गर्दै यस २९औं महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तत्कालीन महान् जनयुद्धकले गाउँ गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनैतिक लहर ल्याएको स्मरण गर्दै नेता शाहीले यसकै जगमा भएको ०६२÷६३ को जनआन्दोलनले नेपालमा सदियौ देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् ।

मुलुकमा भएको यो राजनैतिक परिवर्तनले आज हामीले समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयता लगायतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु प्राप्त गरेको उल्लेख गर्दै नेता शाहीले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, प्रदेश प्राप्तिलगायतका जनआन्दोलन, जनसंघर्षहरुको बलमा २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेपश्चात सिंगो मुलुकले तीव्र गतिमा विकास र समृद्धि प्राप्त गर्ने संकल्प गरेको बताएका छन् ।,

नेता शाहीले दिएको शुभकामना सन्देश ।