शहिदका सपना पुरा गर्ने जिम्मेवारी हाम्रो होःनेता शाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले महान जनयुद्धका शहिदहरुको अधुरा सपना पुरा गर्ने जिम्मेवारी जनयुद्धमा लागेका सबै नेता कार्यकर्ताको भएको बताएका छन् ।

शहिद सप्ताहको अबसरमा गृह जिल्ला कालिकोट पुगेका नेता शाहीले पचाल झरना गाउँ कमिटीले आयोजना गरेको शहिद परिवार सम्मान कार्यक्रममा बोल्दै नेता शाहीले यस्तो बताएका हुन् । देशमा जे जति आजको परिस्थितिमा परिवर्तन भएको छ त्यो सबै महान नजयुद्धका शहिदहरुको बलिदानीका कारण भएको उनले बताए ।

देशमा जनयुद्ध नभएको भए र जनयुद्धमा महान शहिदहरुले ठुलो बलिदानी नगरेको भए आज यो देशमा संघीयता सहितको गणतन्त्र नआउने भन्दै नेता शाहीले जनयुद्धको उपलब्धिलाई मेरो तेरो भन्दा पनि सबैले उपभोग गरेका कारण जनयुद्धका शहिदको सबैले सम्मान गरेर उहाँहरुको अधुँरा सपना पुरा गर्ने जिम्मेवारी यो देशका सबै नागरिकले लिनु पर्ने बताए ।

‘मैले जनयुद्धका बेला धेरै साथिहरुलाई यहि हातले बिदाइ गरेको छु उहाँहरुले देखाएको बाटोबाट म कत्तिपनि बिचलिन हुने छैन, ‘नेता शाहीले भने,’ ‘उहाँहरुको सम्मान र सम्झनामा राज्यले पनि विषेश कार्यक्रम ल्याउनु पर्ने छ । त्यसको लागि म पनि पहल गर्छु ।’

कार्यक्रममा शहिद विश्वनाथ योगीकी धर्मपत्नी प्रमिला योगीले माओवादी पार्टीलाई बलियो बनाउनको लागि शहिद परिवार जहिले पार्टीको साथमा रहेको भन्दै नेताहरुलाई शहिदका सपनाबाट विचलित नहुन आग्रह गरिन् । ‘हामिले हाम्रो परिवार गुमाएका छौ । तपाईहरु आफ्नो यात्राबाट विचलित नहुनु होला उनले भनिन् ।’

पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले आफु निर्वाचित भएर सरकारको नेतृत्वमा पुगेको जनयुद्ध र जनयुद्धका शहिदहरुको बलिदानीका कारण भएको भन्दै आफ्नो कार्यकालभरी शहिदहरुले देखाएको बाटोबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै नेकपा माओवादी केन्द्र पचालझरना गाउँपालिका इन्चार्ज तारा न्यौपानेले जनयुद्धका उपलब्धिहरुलाई रक्षा गरे मात्र शहिदका सपनाहरु पुरा हुने भन्दै सबै नेता कार्यकर्ताहरुले इतिहाँसको रक्षा गर्नु नै आजको आवश्यकता भएको बताइन् ।

पचालझरना गाउँपालिका प्रमुख प्रशासकीय अघिकृत राम बहादुर भण्डारीले शहिद परिवारका समस्या र आवश्यकता नेता कार्यकर्ताहरुले विर्सनु नहुने भन्दै त्यसको लागि सबैले सचेत हुनु पर्ने बताए ।

कार्यक्रममा पचालझरना गाउँपालिकामा जनयद्धका ३४ शहिद परिवारहरुलाई सम्मान पत्र र दोसल्लाह ओडाएर सम्मान गरिएको थियो ।