मृगौला प्रत्यारोपण सेवा प्रदान गर्न प्रदेश अस्पताल सुर्खेत सूचिकृत

सुर्खेत । प्रदेश अस्पताल कालागाउँ सुर्खेत मृगौला प्रत्यारोपण सेवा प्रदान गर्न सूचिकृत भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ४ चैत २०८० मा बसेको (सचिवस्तर)को बैठकले प्रदेश अस्पताल सुर्खेतलाई मृगौला प्रत्यारोपण सेवा प्रदान गर्न सूचिकृत गरेको हो ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८० बमोजिम मृगौला रोग भएका बिरामीहरुलाई मृगौला प्रत्यारोपण सेवा प्रदान सूचिकृत गरिएको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा दुई जनाको मृगौला प्रत्यारोपण समेत भइसकेको छ । अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले कानुनी रुपमा नै अस्पताल सूचिकृत भइसकेकाले अब यहाँबाट मृगौला प्रत्यारोपणको काम नियमित हुने जानकारी दिए ।

प्रा.डा. खड्काले अब कर्णालीका मृगौलाका बिरामीहरुले प्रत्यारोपण गर्न ठुलो धनराशी खर्च गरेर बाहिर जानु पर्ने बाध्यता अब देखि हटेको भन्दै अन्य अस्पतालमा मृगौला प्रत्यारोपण गर्न पालो कुरी बसेका बिरामीहरुलाई समेत प्रदेश अस्पताल सुर्खेतमा आए मृगौला प्रत्यारोपण हुने बताए ।

काठमाडौं बाहिर नेपालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि सूचिकृत हुनेमा प्रदेश अस्पताल दोस्रो रहेको छ ।