१० औँ राष्ट्रिय खेलकुदका प्रतियोगिता बारे शंका नगर्न मन्त्री श्रेष्ठको आग्रह

सुर्खेत । आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कुनै पनि शंका नगर्न नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले आग्रह गरेका छन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य उद्घाटन स्थल निर्माणाधिन प्रदेश रंगशालाको सोमबार अबलोकन÷निरिक्षण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेशमा आयोजना हुँने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारी बारे जानकारी लिन र खेल पूर्वाधारको स्थिति बुझ्न मन्त्री श्रेष्ठ सहित मन्त्रालयको टोली सुर्खेत आइतवार सुर्खेत आइपुगेको थियो । उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थित निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यति ठुलो संरचना बनाइरहेको भन्दै प्रशंसा गरे । ‘कर्णालीले जमर्को गरेर १० औँ राष्ट्रिय खेलकुदलाई महाउत्सव मनाउन अपिल गर्दछु,’ उनले भने, ‘यही अवस्थामा हुन्छ कि हुन्न भन्नु भन्ने आशङ्का पनि छ । म भन्छु यो प्रश्न नै गलत छ । १० औँ राष्ट्रिय खेलकुद हुन्छ, गर्नुपर्छ ।’

संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उनले स्वीकार गरे । उनका अनुसार केन्द्रले १० करोड छुट्ट्याउन खोजेको थियो तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । खेलकुद आयोजनाका लागि आयोजना गर्न ६० करोड विनियोजन गरिएको छ ।

तथापि उक्त आयोजना गर्नका लागि पूर्वाधार निर्माणको क्षेत्रमा सङ्घीय सरकारले न बजेट छुट्टाएको छ न कुनै आयोजना नै । मन्त्री श्रेष्ठले भने, ‘पूर्वाधारका लागि रकम अलिकति सङ्घबाट पनि बजेट पठाउन पाएको भए भन्ने सोचेको थिएँ, कर्णाली सरकारले आफ्नो कामहरूको बजेट काटेर यहाँ लगानी गरिरहेको छ । तर भएन । तैपनि केही बिग्रिएको छैन ।’

प्रतियोगिताको लागि थप बजेट माग गरिएको पनि उनले बताए । साथै उनले अन्य स्रोतहरू जुटाउन आफूले पहल गर्ने बताए । यो रङ्गशाला बाहेक कर्णालीमा अन्य खेल पूर्वाधारको अवस्था निकै कमजोर छ । अहिले बनिरहेको रङ्गशालामा कम्तीमा १२–१५ वटासम्म खेल खेलाउन सकिने प्रदेश खेलकुद विकास परिषद्को आकलन छ ।

अन्य खेलहरू कहाँ खेलाउने भन्ने चिन्ता छ । खेलकुद मन्त्री श्रेष्ठले भने, ‘नवौँ राष्ट्रिय खेलकुदमा ३६ वटा खेलहरू खेलाइएको थियो । यो रङ्गशालामा १६÷१७ वटा खेलाउन सकिन्छ कि भन्ने छ । संरचनाका लागि ‘प्लानिङ’ चाहिन्छ । यहाँ आवासको (व्यवस्थापन) समस्या हुन्छ कि भन्ने देखियो ।’

उनका अनुसार १० हजार जति मान्छेका लागि आवासको चुनौती देखिएको छ । त्यसका लागि खेल अलि लामो खेलाउन सकिन्छ कि भन्ने सोचिरहेको उनले बताए । ८ औँ र नवौँ प्रतियोगिताका क्रममा संरचना निर्माणमा केन्द्र सरकारले सहयोग गरेको भनिए पनि कर्णालीलाई सहयोग गरेको छैन ।

अहिले वीरेन्द्रनगरमा बनिरहेको रङ्गशाला प्रदेश सरकार आफैँले बनाउन थालेको एक मात्र ‘गेम चेञ्जर’ आयोजना हो । उक्त रङ्गशाला निर्माणमा केन्द्र सरकारले कुनै सहयोग गरेको छैन । यस्तै अन्य खेल पूर्वाधारमा पनि सङ्घीय सरकारले सहयोग गरेको छैन । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकै आइरहँदा पनि केन्द्रबाट कुनै पहल नभएको प्रदेश खेलकुद विकास परिषद्को गुनासो छ ।

खासमा प्रतियोगिता राष्ट्रिय खेलकुद विकास परिषद्को आयोजनामा हुने हो । यद्यपि केन्द्रबाट कुनै सहयोग प्राप्त नभएपछि कर्णाली आफ्नै बलले काम गरिरहेको छ ।

मन्त्री श्रेष्ठले अहिले बजेटमा नै १० औँ राष्ट्रिय खेलकुद भनेर सम्बोधन भएको कुराले उत्साह थपेकाले आशङ्कालाई मेटेको बताए । प्रदेश खेलकुद विकास परिषद्का अनुसार निर्माणाधीन रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको मन्त्री परिषदले प्रदेश गौरबको आयोजनाको रुपमा निर्णय गरेको थियो भने त्यसपछिका मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ मङ्सिर २० मा रङ्गशालाको शिलान्यास गरेका थिए । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत रहेको रङ्गशाला निर्माणको जिम्मा पाएको एमएसी–जीएसएल कम्पनीले तोकिएकै समयमा काम सम्पन्न गरिसक्ने दाबीका साथ काम गरिरहे पनि असारसम्म जाने देखिन्छ । निर्माणको काम ०८१ जेठ ११ गतेसम्म सकिने सम्झौता भएको थियो ।

यद्यपि अझै २० प्रतिशत जति काम गर्न बाँकी छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रङ्गशालामा दर्शक क्षमता १० हजार छ । विकासका दृष्टिकोणले निकै पछि परेको कर्णालीमा पहिलोपटक १० औँ राष्ट्रिय खेलकुद हुनु अवसर मानिएपछि चुनौती उत्तिकै छ । संरचनादेखि हरेक हिसाबले कर्णाली सङ्घबाट हेपिएको यहाँका सरोकारवालाहरू बताउँछन् ।