सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा संचालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबार म्याराथन प्रतियोगिता तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दोस्रो काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले प्रतियोगिताको सबै तयारी पुरा भएको बताए ।
विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार हुन लागेको हाफ म्याराथनमा देशभरका दुई हजार बढी धावकहरु सहभागी रहने संयोजक हमालले बताए । कर्णाली खेलकुद विकास परिषद्कोे आर्थिक सहयोग तथा मिड वेस्टन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता संचालन हुनेछ । संयोजक हमालले खेलकुदसँग सरकार र नीजि क्षेत्रलाई जोड्ने ध्येयले म्याराथन आयोजना गरिएको बताए ।उनले भने, ‘हामी म्याराथन खेलकुद मार्फत कर्णाली र नेपाललाई विश्वसामु चिनाउने ध्ययेमा छौं । सोही अनुसार सरकारी निकायको लगानीको खाँचो छ, तर मेलामहोत्सव लाखौं खर्च गर्ने निजी क्षेत्रको पनि यसमा ध्यान जाओस् ।’ उनका अनुसार हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । पहिलो संस्करणमा कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी प्रतियोगितामा यस वर्षबाट देशैभरका धावक, धाविका सहभागि हुने हमालले बताए ।
एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको हमालको भनाई छ । हाफ म्याराथनको विजेतामध्ये २१ किलोमिटर प्रथम हुने खेलाडीलाई एक लाख राशीको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रतियोगिताको द्वितिय स्थान प्राप्त गर्नेले ५० हजार, तृतिय हुनेलाई ३० हजार र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कारस्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, क्रमश १० किलोमिटर तर्फ प्रथम १०, द्धितिय ७ र तृतिय पाँच हजार, पाँच किलोमिटर तर्फ प्रथम पाँच, द्धितिय तीन र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई दुई हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा पत्रकार, विद्यार्थी, बालबालिका लगायतलाई लक्षित गरी तीन किलोमिटर दौड प्रतियोगिता पनि समावेश गरिएको छ । दौड प्रतियोगिताको रुट वीरेन्द्रचोकबाट सुरु भएर मंगलगडी, एअरपोर्टचोक, सुब्बाकुना हुदै फेरी सोही रुट फिर्ता भएर सुब्बाकुना, मंगलगडीचोक हुदै रेडियोनेपाल बांगेसिमल मोडबाट फिर्ता भई मंगलगडी, वीरेन्द्रचोक पुगेर समापन हुनेछ ।
झिल्को खबर । ५ असार २०८१, बुधबार १४:३६