काठमाडौं । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनामा नागरिकतामा जन्ममिति सच्याउने कुरा नौलो होईन । सच्याएकै कारण प्रधानसेनापति हुन लागेकाहरुले जागिरबाट राजीनामा दिनु परेको छ ।
तर मन्त्रिपरिषदको सोमबार बेलुका बसेको बैठकले जर्नेल अशोक सिग्देललाई भावी प्रधानसेनापति बनाउने तयारीसहित सिफारिस गरेको स्रोतको दावी छ । मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार आगामी भदौ २४ गते अवकाश हुने सेनापति प्रभुराम शर्माको स्थानमा सिग्देललाई लाने तयारीस्वरुप क्याबिनेटले कामुमा सिफारिस गरेको हो । नेपाली सेनाको परम्पराअनुसार अवकास पाउन एक महिना अगाडि विदामा बस्ने प्रचलन छ। शर्मा साउन २४ गतेदेखि विदामा बस्दैछन्।
उनी ३ बर्ष सेनापति रहनेछन् भने पर्सिदेखि शशीभवनबाट प्रभुराम शर्माले सीतापाइलास्थित निजी निवासमा सामान सार्दैछन् । उनी विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामुको जिम्मेवारी दिइएको हो।
तर अफसोच सिग्देलले पनि शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ। उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको भेटिएको छ। त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै पूर्व कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देल विरुद्ध उजुरी दर्ता भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेको कागजपत्र बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए ।
त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै शंका गर्ने प्रशस्त आधार छन् ।
सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिन्छ । सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ ।
नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्नेमा छानविन रोकेर नेतृत्व दिन लागेपछि विवाद भएको छ ।
उनका शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १९ चैत २०२१ रहेको छ ।
गत शुक्रबार संसदमा समेत यस विषयमा छानविनको माग उठेको थियो । सांसद प्रभु शाहले यस विषयमा रक्षामन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए ।
सञ्चार माध्यममा प्रमाणसहित समाचार आउँदा समेत छानविन नभएको भन्दै जवाफ मागिएको छ ।
तर रक्षा मन्त्रालयले भने सिग्देलको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रमा कुनै कीर्ते नभएको जबाफ दिएको छ । उनीमाथि दोहोरो नागरिकता लिएको र जन्ममिति किर्ते गरेको आरोप लागेको छ । सोही विषयमा सर्वोच्चमा दायर गर्न खोजिएको युवराज सफलको रिटसमेत दरपीठ भएको थियो ।
झिल्को खबर । १५ श्रावण २०८१, मंगलवार १३:३२