काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

प्रधानमन्त्री केपी ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन्।

उक्त प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।

उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलंकालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।

लिग चरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारत पनि लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।