प्रदेश अस्पताल सुर्खेतलाई प्रतिष्ठान बनाउन पहल गरिनेछः मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भणडारीले प्रदेश अस्पताल सुर्खेतलाई प्रतिष्ठान बनाउनेमा कुनै समस्या नभएको बताए छन् ।
शुक्रवार प्रदेश अस्पताल पुगेका मन्त्री भण्डारीले प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर भएको भन्दै सरकारलाई आर्थिक व्यवभार नबढ्ने गरी प्रतिष्ठानका लागि पहल गरिने बताएका हुन् ।

अस्पतालको सेवा प्रवाह राम्रो देखिएको भन्दै मन्त्री भण्डारीले सेवाग्राहीको सन्तुष्टिमा भने कमजोर भएको बताए । सेवा प्रदायक निकायका व्यक्तिले सेवाग्राही सँग गरिने बोलीचाली र व्यवहारमा सुधार गर्नुपर्ने सुझाव समेत दिए ।

उनले सार्वजनिक सेवा र वस्तु प्रवाहमा कमजोरी नगर्न आग्रह गर्दै आफ्ना तर्फबाट गरिने सम्पूर्ण कामहरूको लागि पदमा हुँदा वा नहुँदा तयार हुने प्रतिवद्दता जनाए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले अस्पताल व्यवस्थापनका लागि विगतको तुलनामा चालू आर्थिक वर्षमा बजेट घटेको बारे जानकारी गराउँदै त्यसतर्फ मन्त्री भण्डारीको ध्यानाकर्षण गराए।

यस्तै, अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले गरीब जनताको अवस्थालाई हेरेर त्यस अनुरूपको कार्ययोजना बनाउन आग्रह गरे। स्वास्थ्य संरचनाका लागि सरकारका योजनाहरू प्राथमिकतामा नपरेको बताए ।

तीन सय बेड सञ्चालनमा रहेको प्रादेशिक ठूलो अस्पतालले थप नयाँ सुविधाको तयारी गरेको उनले जानकारी गराउँदै यसका लागि सरकारको सहयोगको अपेक्षा गरिएको बताए। अस्पताललाई प्रतिष्ठानका रूपमा लिन मन्त्री भण्डारी समक्ष समेत अनुरोध गरे ।