सुर्खेत । प्रदेश खेलकुद विकास परिषद्ले मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी गर्दै ६ खेलको बन्द प्रशिक्षण सुरु गरिसकेको छ । खेडालीलाई तयारी अवस्थामा राख्न बन्द प्रशिक्षण सुरु गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । ६ खेलका झन्डै २ सय ५० खेलाडी बन्द प्रशिक्षण छन् । एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, बक्सिङ र रग्बीका खेलाडीहरू बन्द प्रशिक्षणमा राखिएको छ ।
पदक जित्ने प्रवल सम्भावनाका खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको प्रदेशको भनाइ छ । कर्णालीले नवौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेको थियो । यस पटक दसौंमा दोहोरो अंकमा स्वर्ण जित्ने लक्ष्य राखेर खेलाडी छनोट गरी वैशाखबाटै बन्द प्रशिक्षणमा राखेको छ । नवौंमा कर्णाली २ स्वर्ण, ४ रजत र १२ कांस्यसहित ११ टिममा पदक तालिकाको पुछारमा रहेको थियो ।
खेलाडीले पर्याप्त पूर्वाधार नहुँदा निर्माणधीन रंगशालाभित्र पालैपालो तयारी गरिरहेका छन् । नवौं राष्ट्रिय खेलकुदमा प्राप्त पदकअनुसार ती खेललाई वर्गीकरणमा राखेर प्रशिक्षण दिन थालिएको हो । पहिलो श्रेणीमा एथलेटिक्स, उसु आईटीएफ, तेक्वान्दो, कराते तथा दोस्रो श्रेणीमा बक्सिङ, फुलकन्याटक्ट कराते, जुडो, हक्की रग्बी, हयान्डबल र बास्केटबल छन् । तेस्रो श्रेणीमा कबड्डी, क्रिक्रेट, खोखो, ब्याडमिन्टन, भलिबल, फुटबल, भारातोलन, सुटिङ, सेपाकताक्रो र पौडी छन् ।
दसौं राष्ट्रिय खेलकुदमा दोहोरो अंकको स्वर्ण जित्ने लक्ष्यसहित खेललाई तीन तहको श्रेणीमा राखेको परिषद्ले जनाएको छ । दसौं राष्ट्रियमा २४ खेल खेलाउने तयारी छ ।
कर्णालीमा पाँच ‘प’ को खेलकुद विकास नीति आवश्यक रहेको र खेलाडीलाई पूर्वाधार, प्रशिक्षण, प्रोत्साहन, प्रतियोगिता र प्रतिभामा ध्यान दिएपछि ८० को दशकमा गरेको लगानी ९० को दशकमा असुल हुने खेलका प्रशिक्षकहरू बताउँछन् ।
कर्णालीमा आवश्यक पूर्वाधार र प्रशिक्षक नहुँदा कतिपय खेलहरूलाई अन्य प्रदेशमा प्रशिक्षणका लागि पठाएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले बताए । ‘उसु र तेक्वान्दोका खेलाडीलाई राष्ट्रिय प्रशिक्षण केन्द्र काठमाडौंमा पठाएर तयारी गराइरहेका छौं भने एथलेटिक्सका खेलाडीलाई दाङ पठाउने तयारी छ,’ उनले भने, ‘अब यहाँको रंगशालाको काम सकिनासाथ खेलाडीले आफ्नै रंगशालामा तयारी गर्ने छन् ।’
उनका अनुसार रंगशाला कार्य सम्पन्न भएसँगै प्रशिक्षण र प्रतियोगितामा ध्यान दिए कर्णाली प्रदेश खेलाडी उत्पादनको थलो बन्नेछ । रंगशाला बन्दै गर्दा खेलप्रति खेलाडीको रुचि बढेको छ । पूर्वराष्ट्रिय धावक एवं प्रशिक्षक हरिबहादुर रोकायले बन्द प्रशिक्षणमा रहेका खेलाडीले दसौं राष्ट्रियका लागि दिन गनेर बसेको बताए । ‘खेलाडीमा उत्साह बढेको छ, आफ्नै प्रदेशमा प्रतियोगिता हुने भएपछि खेलाडी प्रतिष्ठाका साथ खेल्ने गर्छन्,’ उनले भने ‘तर, तोकिएको समयमा प्रतियोगिता भएन भने खेलाडीमा हतोत्साह बढ्ने जोखिम पनि छ ।’
खेलाडी लिएर उसु राष्ट्रिय प्रशिक्षण केन्द्र काठमाडौं पुगेका उसु प्रशिक्षक रमेश तुलाधरले राम्रो तयारी भइरहेको बताए । उनले सबै खेलाडीलाई अनिवार्य बन्द प्रशिक्षणमा राख्न आवश्यक रहेको र त्यसका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरेर गर्नुपर्ने बताए ।
खेल संख्या बढी, खेलाडी कम
कर्णालीमा खेल संख्या धेरै छ । तर, खेलाडी र पूर्वाधारको संख्या निकै न्यून छ । प्रदेश सरकारले खेलसंस्था सञ्चालन कार्यविधि बनाउन आवश्यक छ । अहिलेसम्म खेल संस्थाहरू खुलमखुला चलिरहेका छन् । ‘खेलक्षेत्रमा राजनीति हाबी छ । खेल संख्या मात्र थपेर काम छैन,’ सदस्यसचिव सन्ज्यालले भने, ‘पहुँचको आधारमा खेलसंख्या थपिएको छ ।
खेलाडी उत्पादनमा ध्यानुभन्दा पनि खेल संख्या बढाउनमा ध्यान दिइयो ।’ यस्तै हो भने संरचनाचाहिँ ठूला र खेलाडी नहुने अवस्था सिर्जना हुनसक्ने उनको जिकिर छ । कतिपय खेलमा खेलाडी नै छैनन्, खेल संघमात्र गठन छ । प्रदेश सरकारले छिटो ऐन कानुन बनाउन आवश्यक छ ।
कान्तिपुरका लागि ज्योती कटुवालले लेखेको समचार
झिल्को खबर । ३२ श्रावण २०८१, शुक्रबार १३:४०