सिसन बानिया कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’

सुर्खेत । कर्णाली याक्सले मंगलबार सिसन बानियालाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन् ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।
त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्नेछ ।