विशेषज्ञ सेवा र टेलिमेडिसिन संचालनका लागी तिलागुफाको प्रतिष्ठानसँग सम्झौता

कालिकोट , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कालिकोट तिलागुफा नगरपालिका बीच नगरपालिका भित्र विशेषज्ञ सेवा देखि टेलिमेडिसिन सेवा संचालनको लागी सम्झौता भएको छ ।

बुधवार भएको सम्झौतामा कालिकोट तिलागुफा नगरपालिकाको तर्फबाट नगर उप –प्रमुख महेन्द्र बहादुर शाही र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट रजिष्ट्रार नृपेन्द्र महत बीच सम्झौता पत्रमा हस्ताक्षण भएको हो ।

सम्झौतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिला गुफा नगरपालिका बीच सम्बन्ध विस्तार गर्दै सहकार्य गर्ने र तिलागुफा नगरपालिकाका स्वास्थ्य संस्थाहरु लगायत नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य सस्थाहरुबाट उपलब्ध हुने सेवाहरुको गुणस्तर सुधार गर्दै नगर अस्पताल राँचुली स्वास्थ्य संस्थाबाट हाललाई नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सम्झौता भएको कालिकोट तिलागुफा नगरपालिका उप–प्रमुख महेन्द्र बहादुर शाहीले झिल्लो खबरलाइ जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा.मंगल रावलको रोहवरमा नगर उप –प्रमुख महेन्द्र बहादुर शाही र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत बीच सम्झौता पत्रमा हस्ताक्षण पछि सम्झौता पत्र आदान प्रदान गर्दै । फोटो महेन्द्र बहादुर शाहीको फेसबुकबाट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुणस्तरीय छिटो छरितो स्वास्थ्य सेवाको लागि टेलिमेडिसियन सेवा संचालन गर्ने र नगरपालिका स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

‘नगर सरकारको सबैभन्दा ठुलो प्रथामिकता भनेको नगरबासीको स्वास्थ्य हो स्वास्थ्य राम्रो भयो भने हामीले अन्य कामहरु विस्तारै गर्न सक्छौ, ’ ‘नगर उप–प्रमुख शाहीले भने, ‘नागरिकले पाउने सेवा सुविधाहरु मध्य सबैभन्दा पहिला स्वस्थ्य उपचार पाउनु पर्छ भन्ने हाम्रो पहिलो प्रथामिकतामा रहेको छ,।’

नगर उप –प्रमुख महेन्द्र बहादुर शाही र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत बीच भएको सम्झौता पत्र ।