
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको रगतले देशको झन्डा रातो भएको बताएका छन्।
१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले नेपालको झण्डा ख्याल ख्यालमा रातो नभएको बताउँदै मजदुरहरूको रगतले झण्डा रातो भएको बताए। उनले शान्तिको प्रतीक र शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर मजदुरहरूले बोकेका सेता झण्डाहरूमा गोलीका कारण रगतले झण्डा लतपतिएको बताए।
उनले रगतले लतपतिएका कारण झण्डा रातो भएपछि मजदुरहरूले अब उप्रान्त नेपालको झण्डा रातो हुने घोषणा गरेको स्मरण गरे।
प्रधानमन्त्री ओलीले बलिदानबाट निस्किएका कुरा राता हुने बताउँदै देश, कम्युनिस्ट पार्टी, मजदुरहरूको झण्डा र रङ्ग रातो भएको जिकिर गरे। उनले सङ्घर्ष र बलिदानका गाथाहरू र इतिहासलाई कहिले पनि नबिर्सिने प्रतिबद्धता व्यक्त गरे।
“आज हाम्रा सङ्घर्ष र बलिदानका गाथाहरूलाई सम्झने दिन हो। हाम्रो झण्डा कसरी रातो भयो, कतिपयले रातो झण्डा भन्छन्। गोली खाएर ढल्दा, झण्डा समातिराख्दा रगतले झण्डा रातो भएको हो। सेतो झण्डा बोकेका थिए मजदुरहरूले, शान्तिको प्रतीकको रूपमा बोकेका थिए‚’ उनले भने, ‘जब रगतले लतपतिएर झण्डा रातो भयो, त्यसपछि उनीहरूले घोषणा गरे कि अब उप्रान्त हाम्रो झण्डा रातो हुनेछ। त्यसरी कम्युनिस्ट पार्टीको झण्डा, मजदुरहरूको झण्डा, मजदुरहरूको रङ्ग प्रमुख रूपमा रातो भयो। यसकारण बलिदानबाट निस्किएका कुरा राता हुन्छन्। हाम्रो देशको झण्डा पनि रातो छ। सङ्घर्षका गाथा, बलिदानलाई कहिने पनि बिर्सिने छैनौँ।”
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले सधैँ राष्ट्रियता, प्रगति, उन्नति, विकास र श्रमजीवीहरूको हक र अधिकारको पक्षमा सक्रिय भएर लाग्ने जिकिर गरे।
झिल्को खबर । १८ बैशाख २०८२, बिहीबार २१:५८