भद्रगोल महानगरः उपमेयर र प्रशासकीय अधिकृतसँगै छैन बालेनको बोलचाल !

काठमाडौं । स्वतन्त्र मेयर बालेन्द्र शाह (बालेन) ले संघीय राजधानी काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको तीन वर्ष पूरा भयो । सबैभन्दा बढी बजेट खेलाउने महानगरका मेयर बालेनको तीन वर्षे शासन उतारचढावमै बिते ।

झन् यतिखेर महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच भेटघाट र बोलचालसमेत छैन ।

अर्थात् महानगर स्वयम् अन्योलग्रस्त छ । यहाँसम्म कि मेयर शाह कार्यपालिका बैठक बोलाउनसमेत असफल छन् । त्यसले गर्दा महानगरको भाबी बजेट अन्योलमा छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग छ महिनादेखि मेयर बालेनको झगडा कायमै छ ।

उता, विवादकैबीच बालेनले जेठ १ गते कार्यपालिकाअन्तर्गतका चारवटा समितिका संयोजक हटाइदिए । जसमा सूचना प्रविधि समिति संयोजकबाट मानन्धरलाई हटाउँदै काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई जिम्मेवारी दिए ।

त्यस्तै सुशासन समिति संयोजकबाट काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाउँदै वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौं–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी दिए ।

तर, कार्यपालिका बैठकबाट संयोजक तोकिनुपर्ने व्यवस्थाविपरीत बालेन शाहले स्वेच्छाचारी निर्णय लिएको जिकीरसहित तीन वडाध्यक्षले जिम्मेवारी अस्वीकार गरे । मेयर बालेनले विधायन समिति संयोजकबाट काठमाडौं–२३ का वडाध्यक्ष मचाराजा महर्जनलाई हटाउँदै वडा नम्बर–१६ की अध्यक्ष रोजिना श्रेष्ठलाई जिम्मेवारी तोकिएको थियो ।

उनले मात्र बालेनको निर्णयलाई स्वीकार गरेकी छिन् । श्रेष्ठ स्वतन्त्र पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् ।

महानगरको ४२ सदस्यीय नगर कार्यपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । स्वतन्त्र मेयर बालेन अल्पमतमा छन् । बालेनले अब बोलाउने कार्यपालिका बैठक कसरी सञ्चालन हुन्छ भन्ने हेर्न बाँकी छ ।

कार्यपालिका सदस्यहरुले बैठक बोलाउन माग गर्दै आएका छन । तर, बालेनले बैठक बोलाउन सकिरहेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ बमोजिम नगरसभा, कार्यपालिकाको बैठक बोलाउने, बैठकमा प्रस्ताव पेस गर्ने÷गराउने काम नगरप्रमुखको हो ।

यसमा राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यको महत्वपूर्ण भूमिका हुन्छ । महानगरका ३२ मध्ये कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले १८ र नेकपा (एमाले) का तर्फले १२ वटा वडाको नेतृत्व गरिरहेका छन् ।