

सुर्खेत । लेखक तथा सामाजिक अभियन्ता डा. नवराज केसीको दोस्रो कृति “स्वस्पर्श” शनिवार वीरेन्द्रनगर सुर्खेतमा गृह विमोचन भएको छ ।
फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तकको शनिबार एक विशेष समारोहबीच तीन पुस्ताले संयुक्तरुपमा विमोचन गरेका थिए । आमा टिका केसी,मामा लाल बहादुर बस्नेत र छोरा अर्नव केसीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
“स्वस्पर्श” मा तीन वटा खण्डहरु छन् । पुस्तकले डिप्रेसनको सिकार भएका बालबालिका र युवाहरुलाई सकरात्मक कथा मार्फत उपचार गरेर उनिहरुलाई खुसी दिन खोजिएको पुस्तकका लेखक डा.नवराज केसीले बताए ।
“यो पुस्तक मार्फत हाम्रो शरिरले दुःखलाई कसरी लिन्छ र त्यो दुःखलाई कसरी कम गर्न सकिन्छ त्यो औषधिको रुपमा कथालाई उतार्न खोजिएको छ,”लेखक डा. केसीले भने,“यसको लागि बालबालिका र युवाहरु सबैले एक पढ्नु पर्ने हुन्छ ।”
पुस्तक भित्र जीवनका उतार–चढाव, आत्मसंघर्ष र सुख–खुसीको खोजीसँग सम्बन्धित विविध कथा समेटिएका छन् । पुस्तकले आशा, प्रेरणा र सकारात्मक सोचसहित जीवनलाई अगाडि बढाउन मार्गदर्शन गर्ने सन्देश बोकेको छ ।
संघर्षबीच जीवनलाई कसरी सबल र प्रेरणादायी बनाउन सकिन्छ भन्ने यथार्थपरक कथा, जीवनअनुभव र बुद्ध–विज्ञानसँग सम्बन्धित विचारहरू पुस्तकमा समावेश छन् ।
विमोचन कार्यक्रममा साहित्यकार सुविन भट्टराईले “स्वस्पर्श” स्कूले उमेरदेखि वृद्ध अवस्थासम्मका सबै पाठकको मन छुने कृति भएको टिप्पणी गरेका थिए ।
यसअघि डा. केसीको पहिलो कृति “शून्यको मूल्य” मदन पुरस्कार छनौटमा परिसकेको चर्चित पुस्तक हो । दोस्रो कृति “स्वस्पर्श” मार्फत उनले अझ आत्मीय र प्रेरणादायी अनुभूति दिन खोजेको देखिन्छ ।

झिल्को खबर । ३२ श्रावण २०८२, शनिबार २०:४४