

सुर्खेत । उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशले कर्णाली राजमार्गलाई २४ सै घण्टा नियमित संचालनमा ल्याउन माग गरेको छ । कर्णाली राजमार्गमा राति ८ बजेदेखी बिहान ६ बजेसम्म सवारी आउजाउमा रोक लगाएर प्रहरी चौकीहरुले नाजाहेज लाभ लिईरहेको बताउदै यसलाई खुला गर्न गृहमन्त्री अर्यालसँग माग गरिएको हो ।
महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीको नेतृत्वमा व्यवसायीहरुले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझाउदै कर्णाली राजमार्ग दिनरात नियमित संचालन गर्न माग गरेका हुन् । गृहमन्त्री अर्याललाई ध्यनाकर्षण गराउँदै महासंघका अध्यक्ष शाहीेले भने, ‘राज्यले कर्णाली राजमार्गको स्तोरोन्नती नगरी राति यातायात संचालनमा रोक लगाउनु कर्णालीको समग्र यातायात सेवा र यहाँको पर्यटन प्रबद्र्धनमा समेत नकारात्मक प्रभाव पारेको छ । यसबाट प्रहरीले गलत तरिकाले आर्थिक लाभ लिने अवस्था पनि सिर्जना गरेको छ । सुर्खेतदेखी मुगुसम्मका दर्जनौँ प्रहरी चेकपोष्टहरुमा पैसा दिए वा भनसुन गरे गाडी छोड्ने नभई राती गाडी गुड्न नदिने अवस्था छ । यसलाई कर्णालीको बदनाम पनि गरेको छ ।’
निर्माण वयवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले कर्णाली राजमार्गमा राति यातायात सेवामा रोक लगाउदा विकास निर्माणका कामहरु समेत प्रभावित भएको बताए । उनले भने, ‘राजमार्गमा मालबाहक गाडीहरु राति ८ बजेपछि जहाँको तही रोकिन्छन् । यसले कर्णालीका दुर्गम जिल्लाहरुमा निवासी सामग्री ढुवानी गर्न व्यवसायीहरुले सास्ती खेपिरहेका छन् । अर्को विकास निर्माणका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न नसकिनुको एउटा कारण पनि कर्णाली राजमार्ग बनेको छ । संघिय सरकारले यो समस्या समाधान गरिदिनुपर्छ ।’
व्यवसायीको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले कर्णाली राजमार्ग २४ सै घण्टा नियमित संचालन गर्न पहल गर्ने बताए । ‘कुनै पनि राजमार्गहरुमा यातायात सेवा अवरुद्ध गर्नु ठिक होईन्,’ उनले भने, ‘म तत्काल प्रहरी प्रमूखसँग बुझेर आबश्यक निर्देशन दिन्छु । कर्णालीको लाईफलाईनसँग जोडिएको यो राजमार्गको स्तोरोन्नती र सुरक्षाको व्यवस्थापन पनि जरुरी छ । त्यसका लागि आवशयक पहल हुन्छ ।’

झिल्को खबर । १० पुष २०८२, बिहीबार १३:५९