यसरी सम्भव भएको थियो रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना

कालिकोट । कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । लामो समयदेखिको नागरिकको माग, स्थानीय तहको पहल र विभिन्न चरणका प्रशासनिक तथा राजनीतिक प्रक्रियापछि अन्ततः मन्त्रिपरिषद्बाट निर्णय भएसँगै रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने कानुनी प्रक्रिया पूरा भएको हो ।

स्थानीय तह निर्वाचन २०७९ का क्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट नगर प्रमुख निर्वाचित धर्मराज शाही ‘पोषण’ तथा नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुख मनिराज बराल नेतृत्वको टिमले रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गराउने प्रमुख चुनावी प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धतालाई समेटेर “नगरबाटै नागरिकता वितरण गराउँछन्, सानै काममा सदरमुकाम जाने दिन हराउँछन्” भन्ने चुनावी गीतसमेत निर्माण गरिएको थियो ।

नगरपालिकाबाट औपचारिक प्रक्रिया सुरु

निर्वाचनपछि प्रतिबद्धता कार्यान्वयनका लागि २६ माघ २०७९ मा रास्कोट नगरपालिकाको नगर कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय ग¥यो । त्यसको दोस्रो दिन २७ माघ २०७९ मा अन्तरपालिका प्रमुखहरू तथा स्थानीय राजनीतिक दलहरूको सर्वदलीय–सर्वपक्षीय बैठकले पनि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्ने सर्वसम्मत निर्णय ग¥यो।

उक्त निर्णयहरू जिल्ला प्रशासन कार्यालय कालिकोटमा पठाइएपछि ५ फागुन २०७९ मा च.नं. १५४८ को पत्रमार्फत गृह मन्त्रालयमा पहिलोपटक रास्कोटको फाइल दर्ता भएको थियो। त्यतिबेलासम्म देशभर ५० भन्दा बढी स्थानबाट इलाका प्रशासन कार्यालय स्थापनाका मागसहितका फाइलहरू गृह मन्त्रालयमा दर्ता भइसकेका थिए ।

जिल्ला सुरक्षा समितिको सिफारिस

गृह मन्त्रालयले जिल्ला सुरक्षा समितिको निर्णय तथा सिफारिस आवश्यक रहेको जानकारी गराएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको अध्यक्षतामा १४ फागुन मिति २०७९ मा बसेको जिल्ला सुरक्षा समिति कालिकोटको बैठकले रास्कोट नगरपालिकाको आरसिपी बजारमा इलाका प्रशासन कार्यालय स्थापना उपयुक्त हुने निष्कर्षसहित गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय ग¥यो।

यसपछि गृह मन्त्रालयले अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय, स्वीकृति तथा स्थानीय तहमा इलाका प्रशासन कार्यालयको आवश्यकता सम्बन्धी आन्तरिक अध्ययनका प्रक्रिया अगाडि बढायो ।
सर्वेक्षण र मन्त्रिपरिषद् प्रक्रिया

२०८१ पुसमा गृह मन्त्रालयले मन्त्रालय तथा मातहतका निकायहरूको संगठन संरचना र दरबन्दी हेरफेर तथा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार पार्न कार्यदल गठन ग¥यो। उक्त कार्यदलको प्रतिवेदनले देशभर २३ वटा इलाका प्रशासन कार्यालय थप्न प्रस्ताव गरेको थियो।

कार्यदलको प्रतिवेदनअनुसार गृह मन्त्रालयले २३ वटा इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव ९ भदौ २०८२ मा मन्त्रिपरिषद्को बैठकमार्फत प्रशासन समितिमा पठायो। त्यसपछि २५ कार्तिक २०८२ मा गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग नयाँ इलाका प्रशासन कार्यालय स्थापनाका लागि सहमति माग्यो।

जवाफमा अर्थ मन्त्रालयले ३ मंसिर २०८२ मा रास्कोटसहित जम्मा १० वटा इलाका प्रशासन कार्यालय स्थापना गर्न सहमति प्रदान ग¥यो। अन्ततः ११ पुस ०८२मा बसेको मन्त्रिपरिषद् बैठकले रास्कोटसहित ९ वटा स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय ग¥यो।

सेवा सञ्चालनको तयारी

शुक्रबारको मन्त्रिपरिषद् निर्णयसँगै रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने कानुनी प्रक्रिया पूरा भएको नगर प्रमुख धर्मराज शाहीले जानकारी दिएका छन्। उनका अनुसार अब आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा समन्वय गरी छिट्टै सेवा सञ्चालन गरिनेछ।

सहयोग र सहकार्यको परिणाम

नगर प्रमुख शाहीले यस समग्र प्रक्रियामा निरन्तर सल्लाह, सूचना र समन्वय गर्ने पूर्व प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, रास्कोटका पूर्व प्रमुख प्रशासकीय अधिकृत (हाल गृह मन्त्रालय) कुलराज सुवेदी तथा गृह मन्त्रालयका शाखा अधिकृत गणेशदत्त ओझाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

त्यस्तै पलाता, पचालझरना, सान्नी त्रिवेणी र नरहरीनाथ गाउँपालिकाका नेतृत्व, जिल्ला प्रशासन कार्यालय कालिकोट, तत्कालीन प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, कालिकोट जिल्लाका संघीय तथा प्रदेश सांसदहरू, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताको सहयोगले यो प्रस्ताव सफल भएको उल्लेख गरिएको छ।

रास्कोटबासीलाई लाभ

इलाका प्रशासन कार्यालय स्थापना भएपछि रास्कोटसहित आसपासका स्थानीयवासीले नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा लगायतका प्रशासनिक सेवा लिन सदरमुकाम मान्म जानुपर्ने बाध्यता हट्नेछ। यसले सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने विश्वास लिइएको छ।

नगर प्रमुख शाहीले आगामी दिनहरूमा पनि साझा विषयमा सबै पक्षको सहयोग, सहकार्य र सहयात्राको अपेक्षा गर्दै इलाका प्रशासन कार्यालय रास्कोटबाट सेवा प्राप्त गर्ने सम्पूर्ण कालिकोटबासीलाई हार्दिक बधाई दिएका छन् ।