कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएलगत्तै निर्वाचन आयोगमा


काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनपक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

’सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने ।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्वाचित भएका छन् । सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।

सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीमा शेरबहादुर देउवाको अध्याय टुंगिएको उद्घोष गरे । उनले कांग्रेस गुटबाट मुक्त भएको बताए । ‘कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहने नयाँ परम्परा सुरु भएको छ,’ उनले भने ।

दल सुध्रनुपर्छ, ठीक ठाउँमा उभ्याउनुपर्छ भनेर आफूहरूले वर्षौंदेखि जोड दिँदै आएको उल्लेख गर्दै उनले यो पटक त्यसैका लागि जोखिम मोलेको उल्लेख गरे ।

देउवा कार्यकारी भूमिकामा सक्रिय बन्न नहुने विशेष महाधिवेशन पक्षधरको माग सुन्न संस्थापन पक्ष तयार नभएपछि कांग्रेस विभाजित भएको हो । यसले कांग्रेसको आन्तरिक जीवनमा मात्रै नभएर समग्र नेपाली राजनीतिमै तरंग ल्याएको छ । अब थापा र देउवा नेतृत्वका दुई समानान्तर केन्द्रीय कार्यसमिति आमनेसामने भएका छन् । पार्टीको झन्डा र चुनाव चिह्न रुख कसले पाउने भन्ने विवाद पनि उत्पन्न भएको छ ।

विशेष महाधिवेशनलगत्तै निर्वाचन आयोगमा कांग्रेस

विशेष महाधिवेशन पक्षधर कांग्रेसले गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । महाधिवेशनले चयन गरेको कार्यसमिति तथा अन्य निर्णय दल दर्ता किताबमा अद्यावधिकका लागि पत्र पनि कांग्रेसले आयोगमा बुझाएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारी बिहीबार आयोग पुगेका थिए । सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशन तथा केन्द्रीय समितिले गरेका निर्णय अद्यावधिक गरिदिन आग्रह गरे ।

 

पार्टीको विधानको धारा १७ (२) को प्रावधानअनुसार विशेष महाधिवेशन बोलाइएको उनले जानकारी दिए । ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्था विधानमा छ,’ उनले भने, ‘त्यसैले सबै रीत पूरा गरेर २७–३० पुसमा विशेष महाधिवेशन सम्पन्न भएको छ ।’

बैठक सञ्चालनका लागि विधानको धारा ४६ मा तोकिएको गणपूरक संख्याभन्दा बढी उपस्थित भएर विशेष महाधिवेशनले कार्यसमिति चयन र अन्य निर्णय गरेको समेत थापाले जानकारी गराए । दलको निर्णय अद्यावधिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर कागजात पेस गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचन नजिक रहेको र ६ माघमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले पार्टी महाधिवेशनबाट भएका निर्णयलाई जतिसक्दो चाँडो अभिलेखीकरण गरिदिन पनि थापाले आयोगको ध्यानाकर्षण गराएका थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक ललितपुरको कुपन्डोलमा गरिसकेपछि पदाधिकारी आयोग पुगेका थिए । आयोगमा सभापति थापाले कार्यसमिति बैठकमा भएका निर्णयबारे समेत जानकारी गराएका थिए । बैठकले थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र लेखन समिति, उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको थियो ।

थापाले बोलिसकेपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कांग्रेस पदाधिकारीसँगै आयोग पुगेका वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई केही धारणा छ कि भनेर सोधेका थिए । जवाफमा दाहालले पार्टीको विधानअनुसार नयाँ नेतृत्व चयन भएको बताएका थिए ।