चाैकुने गाउँपालिकामा संयुक्त बजार अनुगमन, म्याद गुज्रेका तथा अखाद्य वस्तु जफत

सुर्खेत । चाैकुने गाउँपालिका, सुर्खेतका विभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा वडा नं. ४ जगन्नाथ बजार बिजौरा तथा वडा नं. ८ मिलनचोक–विशाल बजार गुटुमा अनुगमन गरिएको हो।

उक्त अनुगमन कार्यमा चाैकुने गाउँपालिकाले आवश्यक सहजीकरण गरेको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका कार्यालय प्रमुख सन्तोष दाहाल, चाैकुने गाउँपालिका गाउँ कार्यपालिका कार्यालय गुटुका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क., इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र शाही, खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदी, नायब सुब्बा छविराज कडेल, प्रा.स. सन्तोष घिमिरे, उद्यम विकास सहजकर्ता वर्षा घर्ती तथा इलाका प्रहरी कार्यालय गुटु र प्रहरी चौकीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा म्याद गुज्रेका चाउचाउ, बिस्कुट, कोल्ड ड्रिङ्क्स, चिउरा, दालमोठ, चकलेटलगायत खाद्य सामग्री फेला परेका थिए। त्यस्तै, लेबलिङ नगरिएका हजमेला क्यान्डी, चाउमिन, भुजा तथा उपहारको लोभ देखाई खरिद–बिक्री बढाउने उद्देश्यले झुठा विवरण राखिएका चाइनिज रोलजस्ता अखाद्य तथा गुणस्तरहीन वस्तुहरू समेत जफत गरिएको छ।

अनुगमन टोलीले सम्बन्धित व्यवसायीलाई ती वस्तुहरूको बिक्री तथा वितरण नगर्न निर्देशन दिँदै पसलमा रहेका खाद्य सामग्रीको नियमित निरीक्षण गर्न तथा म्याद गुज्रेका र अखाद्य वस्तुहरू तत्काल नष्ट गर्न सचेत गराएको छ।

अनुगमनका क्रममा जम्मा १४ वटा खाद्यान्न तथा किराना पसल निरीक्षण गरिएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जफत गरिएका सम्पूर्ण अखाद्य सामग्रीहरू चाैकुने गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष कमल बहादुर जि.सी.को रोहवरमा नष्ट गरिएको हो।

सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी दिनमा समेत नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।